समाचार

उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो


काठमाडौँ – आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ-दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका १ सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले सोमबार अपराह्नको उडानमार्फत दिल्ली लगेको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले सोमबार अपराह्न करिब ३ बजेको उडानमार्फत दिल्ली लगेको हो ।

उनका अनुसार २ सय ४७ मध्ये बाँकी रहेका १ सय ५० जना यात्रुलाई निगमले आफ्नै उडान र अरू वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली लगेको हो। केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार निगमको काठमाडौँ–दिल्ली दुईवटा उडानको तालिका थियो । नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेको थियो ।

प्राधिकरणले आफूले दिएको निर्देशन निगमले पालना नगरेको भन्दै आइतबार बिहान दिल्लीतर्फको उडान रद्द गर्दा विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए । काठमाडौँ–दिल्ली आइतबारको १:४५ बजेको उडान रद्द भएको थियो । यसबाट २ सय ४७ जनामध्ये १ सयजना कोड सेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए ।