Breaking

शंकैशंकाको घेरामा प्रचण्ड–बाबुरामको मिलनः कहिले प्यार नै प्यार, कहिले पानी बाराबार


कहिले चाटाचाट त कहिले काटकाट भने जस्तै सम्बन्ध रहेका प्रचण्ड र वावुरामलाई यो निर्वाचनले पुन एक ठाँउमा ल्याईदिएको छ ।कुनै समय प्रचण्डसँगको यात्रा त्यागेर चर्को आलोचनामा उत्रिउका बाबुराम अहिले उनैलाई प्रगतिशील देख्न थालेका छन । प्रचण्डलाई भावी प्रधानमन्त्रीकै रुपमा हेर्न थालेका उनले आफ्नो निर्वाचन क्षेत्र समेत प्रचण्डका लागि त्याग गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीचको व्यक्तिगत सम्बन्ध पर्याप्त आरोह–अवरोहले भरिएको छ। प्रचण्डको सहयात्रीका रुपमा जनयुद्ध हाकेका बाबुराम माओवादी शान्तिप्रक्रियामा आएलगत्तै प्रचण्डको छायाँका रूपमा देखिएका थिए ।

दुई नेता एक–अर्कामा यति धेरै नजिक थिए कि प्रायः एकसाथ देखिने उनीहरुको भेषभूषा पनि उस्तै हुने गर्दथ्यो ।तर ९ असोज ०७२ मा हठात् पत्रकार सम्मेलन गरेर उनले माओवादीबाट अलग भएको घोषणा गरेर नयाँ शक्ती नामक पार्टी गठन गरे । संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको एक साता नबित्दै अचानक माओवादी त्यागेका उनले त्यसपछि सबैभन्दा बढि प्रहार कसैमाथि गरे भने त्यो प्रचण्ड नै गरे । यसैको श्रृखला २०७७ साल असोज २२ गते पालुङटार नगरपालिका ६ को पौवाटारमा प्रचण्डमाथि ९ अर्वको भ्रष्टचारको आरोप लगाए ।

यो आरोप प्रमाणित नभए झुण्डिन तयार रहेको बताएका उनले अहिलेसोहि ठाँउबाट प्रचण्डलाई भोट मागिरेहका छन । प्रचण्ड जिताउन चुनावी कमाण्डर बनेर सोहि क्षेत्रमा समय व्यतित गरिरहेका उनले आईतबारमात्रै गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताए। यतिमात्र नभएर प्रचण्डलाई गोरखाबाट चुनाव लडाउने विषय आफ्नो पहिलेदेखिको चाहना भएको बताएका उनले गोरखा क्षेत्र नम्बर २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउनु आफ्नो लागि ठूलो गर्वको विषय भएको समेत भन्न भ्याए । अवको प्रधानमन्त्री प्रचण्ड भएको बताएका उनले उनीजति प्रगतीशिल अन्य नेता नै नभएको सम्म भन्न भ्याए ।

आफूबाट छुटेर गएपछि बाबुरामबारे प्रचण्ड टिप्पणी पनि कम तिखा थिएनन् । बाबुराम जस्तो अप्ठ्यारो मान्छेलाई आफूले २५ वर्ष झेलेको बताएका उनलेकोही कसैले एक वर्ष झेलेर देखाउन चुनौति नै दिने गर्दथे । अहिले उनी आफूमाथि लगाएका सारा आरोपको सात खुन माफ गरेर आफूले जति बाबुरामलाई अरु कमैले बुझेका बताउन थालेका छन ।अहिले उनीहरुवीच किन प्यार जोडियो ? प्रश्नको बीचमा दुवै जना छन ।

खासगरी, राजनीतिक वृतमा प्रचण्डबाट बाबुरामले दुईवटा आश्वासन पाएको चर्चा हुने गरेको छ । एक, भावी राष्ट्रपति, दुई पार्टी अध्यक्ष ।प्रचण्डसँग मिलेर अहिले चुनाव नलड्ने र आफ्नो सुरक्षित क्षेत्र प्रचण्डलाई सुम्पेर मंसिरपछि राष्ट्रपति हुने योजनामा बाबुराम रहेको विश्लेषण गर्नेहरु पनि छन् । अर्कातर्फ आफ्नी छोरी मानुषीको जितका लागि आवश्यक गठबन्धनका लागि समेत बाबुराम लोलोपोतो गरिरहेको तर्क गर्नेहरुको संख्या पनि कम छैन ।

तर जे होस पछिल्लो बाबुराम प्रति प्रचण्ड पनि बढि नै अनुग्रहित सुनिन थालिसकेका छन । राजनितिक विश्लेषकहरुले भन्ने गरेको नेपाली राजनितिमा केहि असम्भव नहुने उक्ति र स्वयम नेताहरुकै कोहि स्थायी शत्रु नहुने विषय वोली यो व्यवहारमा चरितार्थ भएको छ । जसले बाबुरामले आश्वासन पाएको कुरालाई नकार्न सकिन्न भने उनी उल्लेखित कुनै पदमा आए भनेपनि अचम्म मान्नुपर्ने अवस्था छैन । तर बारम्बार कहिले प्यार नै प्यार अनि कहिले पानी वारवार हुने प्रचण्ड –बाबुरामको सम्बन्ध के अव चाँहि दिगो हुन लागेको हो ?त्यो हेर्न भने समय पर्खिनुको विकल्प छैन ।