Breaking

सुनसरीको चुनावी संग्राम: द्वन्द्वमा जानसक्ने खतरा, मैदानमा अधिकांश पुराना नेता, गठबन्धन सफल होला ?


काठमाडौँ — पूर्वी तराई जिल्ला सुनसरीमा मंसिर ४ गते हुने निर्वाचनका लागि प्रचारप्रसार तीव्र पारिएको छ । जनताले नयाँ नयाँ अनुहार खोजिरहँदा सत्ता र विपक्षी दुबै गठबन्धनले अधिकांश पुरानैअनुहारलाई मैदानमा उतारेका छन् । नेपाली राजनीतिमा चुनावी प्रतिष्पर्धा भन्ने वित्तिकैठूला दलका उम्मेदवारबीचको प्रतिष्पर्धालाई लिने गरिन्छ । इतिहास र निर्वाचनपछिको मत परिणामले पनि यो कुराको पुष्टि गर्छ ।

तर, यसपटक मंसिर ४ मा हुने चुनावमा सुनसरीमा–१ भने यी दुवै पार्टीका उम्मेदवारलाई प्रतिष्पर्धीको रुपमा देख्न पाइने छैन । देशको पूर्वी जिल्ला सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस र एमाले दुवै पार्टीले आफ्ना कुनै पनि उम्मेदवारलाई चुनावी प्रतिष्पर्धामा मैदान उतारेका छैनन् । सत्ता गठबन्धन र तालमेलको नाम दिँदै दुवै पार्टी चुनावी मैदानबाट बाहिरिएका हुन् । एमालेको लालकिल्ला मानिने सुनसरी १ मा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईलाई छाडिदिएको छ भने कांग्रेसले पनि माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङबोलाई मैदान खाली गरिदिएको छ ।

प्रभावशाली छवि बनाएका एमालेका पूर्व मेयर मनोज मेन्याङबोले पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले राई र वंशको नाताले भाई पर्ने माओवादीका उम्मेदवार मुक्सामहाङ्ग दुवैलाई चुनौती थपेको छ । १ लाख ४१ हजार ८ सय ७८ मतदाता रहेको यहाँ मुक्सामहाङ्गसहित ११ जना स्वतन्त्र गरि जम्मा २० जनाको उम्मेदवारी परेको छ । ठुलो पार्टी भनिएका एमाले, क्षेत्र नम्बर २ मा पनि उही पुरानै नेता चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फ २७ जनाले उम्मेदवारी दिए पनि एमालेका भीम आचार्य र कांग्रेसका सीताराम मेहताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । ०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी–२ बाट निर्वाचित मेहतासदाबहार चर्चित अनुहार हुन् भने आचार्य प्रदेश–१ का पूर्वमुख्यमन्त्री हुन् । सुनसरी ३ लाई अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी चासोका साथ हेरिएको छ । किन भने यहाँ उही पुरानै दुई ठूला अनुहारबीच तेस्रो पटक प्रतिष्पर्धा हुँदै छ । कांग्रेसका विजय कुमार गच्छादार७ औं पटक चुनाव जित्ने रणनीतिमा छन् भने एमालेका भगवती चौधरी दुई पटकको हारको बदला लिने योजनामा छन् ।

चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्रको विकासमा खास्सै ध्यान नदिएको आरोप खेप्दै आएका गच्छदार०४८ यता निरन्तर सत्ता र शक्तिमा रहँदै हालसम्म १२ पटक विभिन्न मन्त्रालयको जिम्मेबारी सम्हालिसकेका छन् । यहाँ १ लाख २५ हजार ४३२ मतदाताको बसोबास रहेको यहाँ विभिन्न काण्डमा मुछिएका गच्छदारका प्रतिष्पर्धी चौधरी पनि पछिल्लो अभिव्यक्तिले विवादमा तानिएकी छन् । पार्टीका दुई ठूला प्रभावशाली नेतृत्व ३ पटक आमनेसामने हुँदै गर्दा चुनाव पनि द्वन्द्वमा जानसक्ने खतरा बढेको छ ।

भोजपुर हुँदा ‘जीवनभरिको हरुवा’ भन्ने ट्याग लागेका हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ लाई रोेजेपछि भने उनको उपनाम बदलिएको छ । त्यसैले उनी यसपटक पनि सुनसरी ४ बाट नै उम्मेदवारी दिएका छन् । यसै क्षेत्रबाट एमालेका जगदिशप्रसाद कुसियत पनि चुनावी मैदानमा छन् । पूर्वप्रदेशमन्त्री समेत बनेका कुसियतलाई एमालेले उम्मेदवार बनाएपछि जसपाका केन्द्रीय सदस्य डा.खालिद हुसेनले स्वतन्त्र उम्मेदवार दिएका छन् । सुनसरीमा जम्मा ४ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभाका लागि अधिकांश उही पुरानै अनुहार दोहोरिएका छन् । कुल ५ लाख ४४ हजार ९ सय ४१ मतदाता रहेको यो जिल्लामा जनताले नयाँ विकल्प नपाउँदा मतदाता भने खासै उत्साहित देखिएका छैनन् ।