Breaking

नेकपा एसको घोषणापत्र सार्वजनिक


काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने बताएको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको घोषणापत्रमा नेकपा एसले नेपालका ठूला नदी तथा नहरहरू र तालहरूमा पर्यटक लक्षित साना पानीजहाजहरू सञ्चालन गर्ने योजना अघि सारेको हो । घोषणापत्रमा भनिएको छ, नेपालका ठूला नदी तथा नहरहरू र तालहरूमा पर्यटक लक्षित साना पानीजहाजहरू सञ्चालन गरिने छ । भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने छ ।

नेपालका ठूला नदीहरूमा पानीजहाज चलाउने महत्त्वाकांक्षी योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका थिए । ओलीले २०७५ फागुन २ मा भव्य कार्यक्रमका साथ ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यायलसमेत उद्घाटन गरेका थिए । ओलीको उक्त योजनालाई धेरैले महत्त्वाकांक्षी योजना भनेर आलोचनासमेत गर्ने गरेका छन् ।

त्यस्तै नेकपा एसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने बताएको छ ।

विराटनगर, नेपालगन्ज, सुर्खेत तथा धनगढी विमानस्थलहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न पहल गरिने पनि घोषणापत्रमा उल्लेख छ । बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाइने र निजी क्षेत्रका हवाई सेवा प्रदायकहरूलाई प्रोत्साहन गरिने पनि घोषणापत्रमा जनाइएको छ ।