Breaking

१२ वर्ष कैद सजाय मागसहित सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता


काठमाडौँ — नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए ।

अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ । आज मुद्दा दर्ता भएर फिर्ता पठाइन्छ। भोलि गोलाप्रथा भएपछि बेन्च तोकिन्छ,’ उनले भने, ‘त्यसपछि थप प्रक्रिया अघि बढ्छ। बयान, बहस त्यसपछि सुरू हुन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो ।

त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ । उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो । यस्तै, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बतायो । क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको छ ।