समाचार

सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया गर्न


काठमाडौँ – मेचीनगर नगरपालिका-७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन् ।

सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर-१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन र सीता छोरी १६ वर्षीया जेनिशा र छोरा सात वर्षीय प्रतिशलाई साथमा लिएर आर्यघाट गइन्। त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर-७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बसिन् ।

दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा नघटेको बताइन् । उहाँले आफू छुट्टिने पक्षमा कहिल्यै नरहेको तर पतिकै बलमा सम्बन्धविच्छेदको कागजमा सहीछाप गरेको बताइन् । ‘मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो’,उनले भनिन् ।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरेका थिए । तर दोस्री पत्नीले केही महिनामै उनलाई छाडेर हिँडेकी थिइन्। ‘मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो । तैपनि म कहिल्यै सम्बन्धविच्छेदको पक्षमा थिइन’, खड्काले भनिन्, ‘कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भनेको थिएँ ।’

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गएका थिए । असोज ८ गते उहाँले आत्महत्या गरेको खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै पतिकै घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर, देउरानी र नन्दहरूले नदिएको बताइन् ।

‘झगडा हुने भएपछि आफन्तको सल्लाहबमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्‍यौँ, साइला देवरले अलग्गै बार्नुभयो’,उनले भनिन् ।