Breaking

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै


काठमाडौँ – नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन ।

प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को ९घ० अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन् । स्वदेश फर्किने क्रममा गत असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।