Breaking

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै


काठमाडौँ – आगामी ४ मंसिरमा हुने प्रतिनिधिुसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले गत शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

सत्तारुढ अर्को घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सोमबार दिउँसो ३ बजे चुनावी ‘प्रतिवद्धतापत्र’ सार्वजनिक गर्न लागेको हो ।

माओवादीले ‘राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ को कुरा समेटेर प्रतिवद्धतापत्र ल्याउँदैछ । एकीकृत समाजवादीले पनि सोमबार दिउँसो १ बजे आलोकनगरस्थित पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्दैछ ।

एकीकृत समाजवादी महासचिव वेदुराम भुसालका अनुसार अध्यक्ष माधवकुमार नेपालले उक्त घोषणा पत्र सार्वजनिक गर्ने छन् । समाजवादीमा उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेलले घोषणापत्र निर्माणको जिम्मेवारी लिएका थिए । घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ राखेको छ ।

राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार साढे ११ बजे नयाँ बानेश्वरस्थित पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक गरिँदैछ ।

राप्रपाले घोषणापत्रमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसदले मन्त्री हुन नपाउने, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय संस्थाका रूपमा राजा, प्रदेश खारेजी, बलियो केन्द्र र सबल स्थानीय तह भएको दुई तहको संरचनामा जोड दिएको छ ।