Breaking

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् ।

आइतबार पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको दाबी गरे । ‘विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन’, उनले भने ।

नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमरेमा पनि सक्रिय राजनीतिमा रहेको बताए ।

बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको बताए ।

‘मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ, सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सार्‍यो, गठबन्धन दलबाट पनि तपाईं नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो’, उनले भने ।

अध्यक्ष केसीले गठबन्धनको सुत्रधार आफ्नै पार्टी रहेको दाबी पनि गरे । ‘गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ’, उनले भने ।

विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बनेका अध्यक्ष केसी अहिले पुनः संसदमा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । ८२ वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उनको बेलाबेला आलोचना हुने गरेको छ ।