Breaking

छठपर्व नेपाली समाजको अमूल्य गहना : प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको बताएका छन् ।

छठपर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले छठजस्ता सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताएका छन् । उनले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको बताएका छन् ।

‘यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, आपसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पुर्‍याएका छन्’, उनले भनेका छन् ।

प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।