Breaking

अर्थतन्त्रका दुई विज्ञको भिडन्तले चुनावी प्रतिस्पर्धा रोचक बन्दै, कांग्रेसको विद्रोहले कसलाई फाइदा ?


काठमाडौँ — मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचन निकट आउँदै गर्दा चितवनमाचुनावी गतिविधि बढेको छ । उम्मेदवार र उम्मेदवारसम्बद्ध दलहरुले आफ्नो पक्षमा मत तान्नका लागि अनेकन तिकडम लगाउन थालिसकेका छन् । नेपाली राजनीतिमा चितवन सधै खास मानिदै आएको छ । राजनीतिका चतुर खेलाडी प्रचण्ड उम्मेदवार हुँदा मात्रै होइन उनी नहुँदा पनि चितवनको चुनावी माहोलले देशको ध्यान तान्ने गरेको छ ।

चितवन १ मा एमालेका निवर्तमान सांसद् तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र गठबन्धनको भागबण्डाबाट कांग्रसका डा. विश्वनाथ पौडेल चुनावी प्रतिष्पर्धामा छन् । उक्त क्षेत्रमा स्वर्णीम वाग्ले चुनाव लड्ने चर्चा चले पनि अन्तिममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका अर्थशास्त्री पौडेलले बाजीमारे । दुई ठूला उम्मेदवारहरुको पार्टी फरक भए पनि विज्ञता भने एउटै हुँदा यसले चुनावी प्रतिष्पर्धा थप रोचक बनाएको छ ।

अर्थमन्त्री भएसँगै आफ्नो विषयमा गहिरोगरी पकड बनाएका एमालेका प्रभावशाली नेता, अनि प्राज्ञिक पृष्ठभूमि बनाउँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेलबीचको भिडन्त यसपल्टको चुनावमा हेर्नलायकछ । अर्थतन्त्रका राम्रा जानकार यी दुई मध्ये पाण्डे ह्याट्रिक गर्ने दाउमा छन् भने पौडेल पहिलो पटक संसद् भवन प्रवेश गर्न चाहन्छन् । २० जनाको उम्मेदवारी रहेको यहाँ स्थानीयतहको विश्लेषण गर्दा कांग्रेस बलियो देखिए पनि राजेन्द्र बुर्लाकोटी बागी उठ्दा पाण्डेलाई केही फाइदा हुने देखिन्छ ।

नेकपा एमालेका कृष्णभक्त पोखरेल लगातार तेस्रो पटक चितवन २ को प्रतिनिधित्व गर्ने दाउमा छन् । स्थानीय तहको नजिता हेर्ने हो भने यो क्षेत्रमा एमालेको पकड राम्रो छ । उनको प्रतिष्पर्धीका रुपमा छन् गठबन्धनका तर्फबाट निर्वतमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ । त्यस्तै सञ्चारकर्म छोडेर नयाँ दल निर्माण गरि राजनीतिमा लागेका रवी लामिछानेको अस्तित्वको लडाई पनि क्षेत्र नम्बर २ बाट नै भइरहेको छ । चितवन ३ मा प्रचण्डसँग चुनाव लड्ने चर्चा चुलिए पनि प्रचण्ड गोरखा भासिएपछि लामिछानेले २ लाई रोजे । लामिछानेको पार्टी नयाँ भएकोले उनलाई चुनौती र अवसर दुवै रहेको विश्लेषण भइरहेको छ ।

०७४ को चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधित्व गरेको चितवन ३ मा यसपटक पनि रोचक प्रतिष्पर्धा हुँदै छ । प्रचण्ड उठ्दा नै असन्तुष्ट बनेको कांग्रेस प्रचण्ड बाहिरिसकेपछि पनि माओवादीबाटै डा.भोजराज अधिकारीलाई उठाउँदा झन् रुष्ट बनेका छन् । जसका कारण त्यहाँ कांग्रेसबाट दुई विद्रोही समूह जन्मिएका छन् ।

कांग्रेसको अस्तित्व जोगाउन भन्दै केन्द्रीय सदस्य दिनेश कोइराला र तथा कांग्रेसबाट निलम्बित नेता जगन्नाथ पौडेलस्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्दै छन् । १ लाख ४४ हजार २ सय ८३ मतदाता रहेको यस क्षेत्रमा कोइरालालाई सहयोग गर्न एमालेले दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । प्रतिनिधि सांसद बन्नका लागि अहिले यहाँ पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसहित २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रभावशाली नेता र चर्चित अनुहार चुनावी प्रतिष्पर्धामा होमिँदा चितवनको निर्वाचन रोचक र रापतापले भरिएको छ । पार्टीभित्रैको विद्रोह र स्वतन्त्र तर्फको लोकप्रियताले पनि राष्ट्रिय राजनीतिमा राज गरिरहेका पार्टीलाई चुनौती थपेको छ ।