समाचार

मिथिलाञ्चलमा छठ : आज खरना गरिँदै


काठमाडौँ – छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन् । कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय-खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन् ।

छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ । यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ ।

व्रतको मुख्य दिन षष्ठी तिथि (यो वर्ष आइतबार) मा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यो विधिलाई ‘‘सझुका अरख’ भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदव् सूर्यलाई अर्घ्य दिइन्छ । यसलाई ‘‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत समाप्त हुन्छ ।

छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ दिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ ।

छठमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार आफन्तलाई घरमै बोलाएर ख्वाउने वा उनीहरूकोमा पुर्‍याउने चलन छ ।