Breaking

चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघ्यो


काठमाडौँ – चितवनमा डेंगु संक्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ संक्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगु संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगु संक्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगु देखिएको केसीले बताए । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अझै केही समय डेंगु संक्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।