Breaking

शहीद स्मृति पार्क झाडीमा परिणत, संरचनाहरु दिनानुदिन जीर्ण हुदै


काठमाडौँ— करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्के झाडीमा परिणत भएको छ । संरक्षण र प्रवद्र्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हुदै गइरहेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क झाडीमा परिणत हुँदै गएको छ । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्यलक्ष्यमा नै सिमित भएको छ । वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा फैलिएको ‘शहीद स्मृति पार्क’ झाडीले ढाकिएको हो ।

पार्कका घुम्ने स्थानमा जताजतै झाडी र फोहोर हुँदा अहिले पर्यटकको आवागमन शुन्य बराबर छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि मात्र नभई राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि मध्यनजर गर्दै बनाइएको थियो । तर अहिले जताजतै उम्रिएको घाँस र फोहरहरुले गर्दा पार्कमा जान कसैको रुचि नहुने गरेको स्थानियको गुनासो छ । स्थानियहरु यसलाई संरक्षण र प्रवद्धन गर्नुपर्ने माग गर्दै आइरहेका छन् । पार्कमा हाल शहीद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरु रहेका छन् । पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ । सो पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने स्थानियहरु बताउँछन् । निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ ।

सो पार्कको व्यवस्थापन हाल शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ । कोरोनाकालमा पार्कमा रहेका संरचनाहरुलाई थपघट गरेर आइसोलेसन निमार्ण गरिएको थियो । पार्कमा शुरुवाती लगानी बाहेक हालसम्म राज्यका कुनकुन निकायको के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्याङ्क कसैसँग पनि छैन । केही व्यक्ति र समूहले सो पार्क देखाएर बजेट ल्याउने र खाने भाडो बनाउने माध्यम बनेको स्थानियको आरोप छ । यता स्थानिय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरुले त्यसमा चाहेर पनि केही गर्न नसकेको बाध्यता रहेको बताउँछ । बढ्दोे शहरीकरणसँगै चन्द्रनिगाहपुर आसपासमा बिस्तारै खुला हरियाली स्थानको कमी हुँदै गइरहेको छ । राज्यको करौडौं लगानी भइसकेको सो पार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्नसके पर्यटकीय स्थलसँगै चन्द्रनिगाहपुरवासीको लागि खुला स्थलको उत्तम विकल्प पनि बन्नसक्ने देखिन्छ । यसको लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ ।