देश

अर्बपति एलन मस्कद्वारा ट्विटर खरिद


काठमाडौँ— विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ समेत रहेका अर्बपति मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेको बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरे लगत्तै सीईओ पराग अग्रवालसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् । यस्तै, मस्कले ट्विटरमा चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे, सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गरेका छन् ।

केही समयअघि मस्क ट्विटर खरिद सम्झौताबाट बाहिरिन खोजेका थिए । सो कदमविरुद्ध अदालतमा मुद्दा दायर भएपछि अदालतले मस्कलाई आजसम्मको समय दिएको थियो । सन् २००६ मा स्थापना भएको ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि मस्कले अब चरो स्वतन्त्र भयो भनेर लेखेका छन् ।

ट्विटरको लोगोमा एउटा चराको आकार छ । त्यसैलाई सङ्केत गर्दै मस्कले चरो स्वतन्त्र भएको बताए ।