समाचार

दैलेखको लोकप्रिय संस्कृति ‘भोसो’


काठमाडौँ – कर्णालीको दैलेखमा​ खेलिने लोकनृत्य हो, भोसो । ,जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा पनि भोसो खेलिन्छ ।

दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक-फरक भए पनि तिथिका हिसाबले तिहारको कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने परम्परा छ ।

जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेलिन्छ । दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायम छ ।

भोसो भिन्न–भिन्न नामले परिचित छ । भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भनिन्छ। आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै मान्दै आएको पाइन्छ । यो मूलतः पुरुषप्रधान खेल हो। नारीहरूका लागि रत्यौलीजस्तै भोसोमा पनि अश्लील शब्द प्रयोग गर्ने गरिन्छ । भोसोमा व्यक्त गरिने गालीगलौज विकृतिका रूपमा नभएर सुरुआतकालदेखि नै आएको मान्यता रहेको नारायण नगरपालिका-२ का लालबहादुर थापाले बताए ।

पछिल्ला वर्षमा अपशब्द बोल्ने चलन हदैसम्म कम भएको उनले बताए । पुर्खादेखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडि लैजान त्यति सजिलो नभएको उनको भनाइ छ ।

भोसोमा सहभागी अर्थात् खेल्नेलाई भुआरा भनिन्छ । भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ । भोसो व्यवस्थापन गर्ने मूलीलाई ‘नायक’ भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भनिन्छ । पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षमा भने छोट्याइएको छ ।

यस्तो छ भोसको प्रक्रिया

गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ । गाउँका‘भुआरा’जम्मा भएर भोसीको सुरुआत गर्छन् । भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो) को जोहो गरिएको हुन्छ।

दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ । जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्छन् ।

लक्ष्मी पूजाको बिहानीपख भोसी सेलाउने चलन हुन्छ । अथवा भोसी समापन गर्ने चलन हुन्छ । नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ । नारायण नगरपालिका-२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको करिब दुई किलोमिटर टाढा रहेको भुवाखाडामा भोसो सेलाउने परम्परा रहेको स्थानीय लालबहादुर थापाले बताए ।

धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसी, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउने उनको भनाइ छ ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिंगी डाली खेल्ने, भैली खेलिन्छ। त्यसपछि भोसी समापन गरिन्छ ।

भोसीको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा रहेको छ। विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, मागल गाउने चलन छ। तर पुस्तान्तरण चुनौतीपूर्ण बनेको छ ।

भोसो संस्कृति जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवा बताउँछन् । वर्ष दिनको एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउँछिन् । ‘पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ’, उनले भनिन्, ‘अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ ।’