Breaking

आज यी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना


काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यतिबेला (शुक्रबार बिहान) पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

बुलेटिनअनुसार आज दिउँसो गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार दैनिक रूपमा तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ । महाशाखाकी मौसमविद् सजिना शाक्यले दिएको जानकारीअनुसार अहिले बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२।६ डिग्री सेल्सियस छ । अन्य स्थानको तापक्रम विवरण आउन भने बाँकी छ ।