Breaking

विदेशी तिथिमितिले ओझेलमा नेपाल संवत्, उपमेयर डंगोलले गरिन यस्तो अपिल


काठमाडौँ — नेवार समुदायले ११४३ औं नेपाल संवत विभिन्न कार्यक्रम गरी मनाएका छन । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ हुने गर्दछ । नेपाल सम्वत्लाई नेवार समुदायले राष्ट्रिय संवतको रुपमा कार्यन्वयन गर्न बर्षोदेखि माग गर्दै आएका छन । तर त्यो मागलाई राज्यले खासै चासो भने दिएको देखिँदैन । यद्दपी चुनाव नजिकिएसँगै राजनीतिक दलका नेता भने नेवारी भेषभुषामा सजिएर मतदातालाई आकर्षित गर्न लागिपरेका छन ।

आजबाट नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने नेपालको मौलिक सम्वत नेपाल संवत ११४३ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएको इतिहासमा उल्लेख छ । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेको स्थानमा नेपाल संवत लाई नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउने गरिन्छ। उपत्यकामा नेवार समूदायले धुमधामका साथ नयाँ वर्षको स्वागत गरेका छन ।

नेपाल संवतको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताएका छन । नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या छ । गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन सरकार प्रयासरत रहेको समेत उल्लेख गरेका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्ने बताएकाछन् । मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा
उतार्न सक्नुपर्ने उल्लेख गरेका छन ।

काठमाडौ महानगरका उपप्रमुख सुनिता डंगोलले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेकाले नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताईन । सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने उनको भनाई छ ।

हाल प्रयोगमा रहेका अधिकांश संवतहरु राजाको नामबाट संवतको नामाकरण गरिएको पाइन्छ । विक्रम संवत्,मानदेव संवत, शाके संवत आदी केहि उदाहरण मान्न सकन्छि । तर, लिच्छिवीकालीन युगदेखि चलिआएको नेपाल संवत भने कुनै व्यक्ति विशेषको नाममा नभई जनताको प्रतिनिधित्व गर्ने संवत हो । तर राष्ट्रिय संवतको मान्यता पाएको नेपालमा नेपाल संवतको बारे भने खाशै चर्चा छैन । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा पर्दै आएको छ ।

भारत उज्जैनका राजा विक्रमादित्य द्वितीयले ल्याएको विक्रम संवत् नेपालको सरकारी कामकाजको संवत छ । नेपालको मौलिक संवत भने विगत झै आज पनि नेवारी समुदायको नयाँ वर्षको रुपमा मात्र परिचित छ । विगत लामो समयदेखि नेपाल संवतलाई सरकारी कामकाजको संवत बनाउने अभियान सञ्चालन गरे पनि यसको कार्यन्वयन हुन सकेको छैन ।