काठमाडौँ — संसारकै फोहोरी मान्छेको उपनाम पाएका इरानका अमाउ हाजीको ९४ वर्षको उमेरमा मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणी प्रान्त फार्सको देज्गाह गाउँ गत आइतबार उनको मृत्यु भएको हो । हाजीले ५० वर्षसम्म पानीले आफ्नो शरीर नुहाएका थिएनन् । केही महिनाअघि गाउँलेहरूले उनलाई नुहाउन प्रोत्साहन गरेका थिए ।
नुहाएको केही महिनामै उनको मृत्यु भएको इर्ना न्युज एजेन्सीले जनाएको छ । गाउँलेहरूले युवा हुँदा कुनै घटना भएकाले हाजीले नुहाउन छोडिदिएको हुन सक्ने बताएका छन् । उनलाई नुहाएपछि बिरामी परिन्छ भन्ने डर थियो । उनका बारेमा सन् २०१३ मा ‘अ स्ट्रेन्ज लाइफ अफ अमाउ हाजी’ नामक डकुमेन्ट्री बनेको थियो ।
उनी ताजा खानाले पनि आफू बिरामी पर्छु भन्ने ठान्थे तर जनावरको मलमुत्र मिसिएको हुक्का तान्थे । उनी बाक्लो लुगा लगाउँथे र गाउँलेहरूले बनाइदिएको झुप्रोमा बस्थे । उनी पानी पनि सफा पिउँदैनथे। धुमपानका भने उनी शौखिन थिए। एउटा तस्बिरमा उनले एकैसाथ धेरै चुरोट पिइरहेको देखिन्छ ।
प्रतिक्रिया