Breaking

देउसी भैलो खेल्दै अर्थमन्त्री शर्मा घरदैलो अभियानमा


काठमाडौँ—अर्थमन्त्री जनार्दन शर्मा देउसी भैलो खेल्दै चुनावी घरदैलो अभियानमा लागेका छन् । तिहार मनाउन गृहजिल्ला पश्चिम रुकुम पुगेका शर्मा भैली खेल्दै चुनावको प्रचारप्रसारमा लागेका हुन् । स्थानीय युवा क्लब तथा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको देउसी भैलो गीतमा शर्मा आफू पनि नाचेर भोट मागेका छन् ।

महासंघले आयोजना गरेको देउसी भैलो कार्यक्रममा मयुर नाचमा समेत शर्माले नृत्य गरेका छन् ।घरदैलो अभियानमा हिँडेका अर्थमन्त्री शर्माले स्थानीय स्तरमा आयोजना हुने देउसी भैलो कार्यक्रममा सहभागी हुनुका साथै नाचगान पनि गरे । वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट शर्मा पश्चिम रुकुममा प्रतिनिधि सभाको उम्मेदवार हुन् । शर्मासँगै गठबन्धनका उम्मेदवारहरू महेन्द्र केसी र राजकुमार शर्मा पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।

त्यसैगरी माओवादी केन्द्रका प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री विमला केसी, पूर्वमन्त्री गोपाल शर्मा, पालिकाका प्रमुख तथा कार्यकर्ताहरू घरदैलो अभियानमा सहभागी भएका छन् । देउसी भैलोमा मयुर, पैसेरु लगायतका लोक नृत्यहरूका साथै पुराना भाका र विकास समृद्धि तथा चुनावी प्रचारका गीतहरू गाइएको माओवादी पश्चिम रुकुमका प्रचार विभाग प्रमुख धुव्र बुढाथोकीले जानकारी दिए । चुनावी प्रचारमा यसपालि घरदैलोसँगै देउसी भैलो खेल्दै अभियान सञ्चालन गरिएको बुढाथोकीले बताए ।