काठमाडौँ- आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ । मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा पाँच रनले विजयी भएको हो ।आयरल्यान्डले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।
खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा पाँच रनले विजयी भएको हो । इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र मोइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोशुआ लिटिलले दुई विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायो । उसका एन्ड्रियु बालबर्नीले ६२ र लोरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टोनले तीन तीन विकेट लिए ।
प्रतियोगितामा यो आयरल्यान्डको पहिलो जित हो भने इङ्ग्ल्यान्डको पहिलो हार हो । यो जितसँगै आइरल्यान्ड दुई अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । इङ्ग्ल्यान्ड भने तेस्रो स्थानमा झरेको छ । यी दुवै टोली समूह ए मा छन् । यही मैदानमा अहिले केही बेरमा समूह ए कै न्युजिल्यान्ड र अफगानिस्तान खेल्दै छन् ।
प्रतिक्रिया