Breaking

काठमाडौँ-१ मा २१ राजनीतिक दलको पेचिलो प्रतिस्पर्धा


काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् ।

सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उमेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट ६ जनाले उमेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौं क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उमेदवारी परेको अधिकारीले जानकारी दिए ।

कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’मा २६ हजार ४३५ र प्रदेशसभा ‘ख’मा १८ हजार ५८३ मतदाता छन् । तीमध्ये २३ हजार ४४८ महिला र २१ हजार ५७० पुरुष मतदाता रहेका छन् ।

सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चारवटा वडा समेटिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन् । प्रदेशसभा ‘क’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौं महानगरको ३१ वडा समेटिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।