Breaking

स्वर्गको एक टुक्रा मार्दी हिमाल!


काठमाडौँ — अन्नपूर्ण सर्किट पदमार्ग अन्तर्गत पर्ने धेरै ट्रेकिङ रुटहरुमध्येको एक हो मार्दी हिमाल रुट । हिउँद सुरु नहुँदै हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरुको अवलोकन गर्न पाउने यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्नथालेको छ ।

हिमाली क्षेत्रको ट्रेकिङ सुन्नासाथ घन्चमन्चमा बसिरहेका अधिकांशलाई रमाइलो लाग्छ । मनमा उत्साह भरिन्छ । यस्तै उत्साहित हुनेहरूका लागि हो मर्दी हिमाल पदयात्रा ।

मर्दी हिमाल अन्नपूर्ण आधार शिविरको छेउसम्म पुगिने पदयात्रा हो । वर्षको दुई सिजन गरेर पाँच महिना यहाँ जान सबभन्दा उपयुक्त महिना हुन्ः मार्च, अप्रिल, मे र अक्टोबर, नोभेम्बर । काठमाडौँबाट मर्दीसम्म जानेहरूले ५ दिनको समय छुट्याए पुग्छ ।

पहिलो दिन काठमाडौँबाट धम्पुस, अस्ट्रेलियन क्याम्प र पितम देउराली पुगिन्छ । दोस्रो दिन धम्पुसबाट मर्दी हिमाल बेस क्याम्प (लो-क्याम्प) पुगिन्छ । आधार शिविरबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियाल्न सकिन्छ । त्यस्तै लमजुङ बजार, घान्द्रुक, लान्द्रुक लगायत ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

यो दृश्य विहान ६ बजे मार्दी हिमालभ्यू प्वाइन्टबाट देखिएको हो ।

यहाँ पुगेका पर्यटकहरु कोहि हिउँसँग, कोहि मनमोहक हिमालको दृश्यसँग त कोहि विहानको सुर्यदयसँग सबै आ–आफ्नै शैलीमा रमाई रहेका हुन्छन् । बादल डाँडा, हाइक्याम्पबाट यहि दृश्य हेर्न पर्यटकहरु विहानको दुई तीन बजे नै उठेर भ्यु प्वाइन्टको यात्रामा निस्किने गर्दछन् । सबैलाई फोटो र भिडियो खिच्न भ्याईनभ्याई नहुने कुरै भएन । ४२ सय मिटर उचाईबाट हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडाको अवलोकनको आनन्द शब्दमा वर्णन गरिसाध्य छैन । सुन्दरताको प्रतिक स्वर्ग हो भने त्यसैको एक टुक्रा मार्दी हो भन्दा फरक पर्दैन ।

ता–तात्तो चियाकफिको साथ माहातले समाउन सकिएलाझैँ देखिने आँखै अगाडि ठडिएको कुमारी माछापुच्छ्रेसहित मार्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुली सहित आधा दर्जनबढी हिमशृङ्खला यो भ्यु प्वाइन्टबाट नियाल्न सकिन्छ । फलत छोटो–मीठो रोमाञ्चक यात्राका लागि यो पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

दशै–तिहारको बीचमा पर्यटकहरु बढि आउने गर्दछ । कोरोना महामारीका कारण सुनशान बनेको यो क्षेत्रमा पछिल्लो समय पुन चहलपहल सुरु भएको छ । कोरोना अगाडि दैनिकदुई हजार भन्दा बढी पर्यटक आउने यस क्षेत्रमा पछिल्लो समय स्वदेशी तथा विदेशी गरी दैनिक दुईदेखि पाँच सय सम्मपर्यटक आउने स्थानीयहरु बताउँछन् ।

हरिया बनजंगल सहित सुन्दर डाँडाकाँडा र पोखरासँगै स्थानीय बस्तीहरुको अवलोकन आफैमा रोचक छ । घण्टै पिच्छे भेटिने सुविधा–सम्पन्नहोटल,रेष्टुरेन्ट यो पदमार्गको अर्को विशेषता हो । हरेक गन्तव्यमा बस्ने खाने होटल लजहरु प्रशस्त छन । व्यवसायीहरुले मान्छेलाई बोकाएर, घोडा,खच्चर हेलिकोप्टरको सहायताले दैनिक उपभोग्य वस्तुहरु ओसार्ने गर्दछन् । दशै र तिहारको समय मार्दी पदयात्राको मौसम हो । कोरोना पछि विस्तारै व्यवसाय केहि चलायमान भएको छ । यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सरकारले सडक पूर्वधार,पानी ,बिजुली लगायतको पूर्वधार निर्माणमा जोड दिनुपर्ने यस क्षेत्रको व्यवसायीहरु बताउँछन ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका- ९ मा रहेको मार्दि हिमाल सबैका लागि सहज हिमाली संसार हो । नजिकै हिमालसँग मितलगाउन र सेतो हिउँलाई चुम्नपाउनु मार्दी पदमार्गको विशेषता हो ।