Breaking

यी हुन् चुनावी मैदानमा देखिएका नयाँ अनुहार, कलाकारदेखि सञ्चारकर्मीसम्मको विधायक बन्ने चाहाना


काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा पहिलो पटक टिकट पाउनेहरुमा कलाकारदेखि सामाजिक अभियन्तसम्म परेका छन् । राष्ट्रिय पार्टीबाट टिकट पाएर मैदानमा आएका नयाँ अनुहार संसद् प्रवेशका लागि भरपुर कसरत गरिरहेका छन् । जति पटक निर्वाचन भएपनि सधैं उही पुरानै अनुहार दोहोरिने नेपालको परम्परा जस्तै बन्दै आएको छ । तर, स्थानीय तहमा शीर्ष दलका प्रभावशाली नेताहरुलाई नै पाखा लगाएर केही स्वतन्त्रहरु निर्वाचित भएपछि जनभावलाई बुझेर पनि होला सायद, पार्टीहरु यस पटक भने झस्किएका छन् ।

मतदातालाई कहिल्यै विकल्प दिन नखोज्ने शीर्ष दलका नेताहरुले यस पटक भने केही नयाँ अनुहारहरुलाई चुनावी मैदानमा उतारेका छन् । नयाँ पार्टी खोल्ने र स्वतन्त्रबाट उम्मेदवारी दिनेको उपस्थिति पनि बाक्लो नै छ । कलाकारदेखि सञ्चारकर्मी हुँदै सामाजिक अभियन्तसम्म नीति निर्माण गर्न इच्छुक देखिएका छन् । कालाकार सञ्जय श्रेष्ठ, मधुसुदन पाठक, मुरलीधर जस्ता कलाकार पनि विधायक बन्न लालायित छन् । सञ्चारकर्मी रवी लामिछाने पार्टी नै खोलेर संसद्मा प्रवेश गर्ने तयारीमा छन् ।

आसन्न प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि सबैभन्दा बढी नयाँ अनुहार नेकपा एमालेका तर्फबाट प्रतिष्पर्धामा होमिएका छन् । एमालेको तर्फबाट ५३ जना नयाँ अनुहार संसद् प्रवेश गर्नका लागि लालायित देखिन्छन् । जसमा काठमाडौँका मात्रै ७ जना नयाँ अनुहार छन् । एमालेले पार्टीका अग्रपंक्ति नेताहरुलाई नै पन्छाएर नयाँ अनुहरालाई अवसर दिएको छ।

गठबन्धनको भागबण्डा गर्दा नेपाली कांग्रेसको भागमा परेको ६ क्षेत्रमध्ये ३ र ५ मा प्रतिनिधि सभाको निर्वाचनका लागि नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र गत प्रदेश सभामा ६ मतले पराजित भएका प्रदीप पौडेल पहिलो पटक प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लाबाट उम्मेदवार बनेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पनि प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ अनुहार नै हुन् । त्यस्तै राप्रपाबाट नै मोरङ क्षेत्र नम्बर ३ मा नायिका रेखा थापाप्रतिष्पर्धामा छिन् । एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकाल र ०७४ को निर्वाचनमा पराजित कांग्रेसका सुनील शर्मासँग थापाको प्रतिष्पर्धा हुँदैछ । पहिलो पटक संसद् भवनमा खुट्टा राख्न प्रयास गरिरहेकी थापा अहिले यी जनाको लागि टाउको दुखाइको विषय बनेकी छिन् ।

२०४८ देखि ०७९ सालसम्म आईपुग्दा ७ वटा निर्वाचन सम्पन्न हुँदैछ । यसबीचमा ६ वटा चुनाव पार गर्र्दा कांग्रेसका सभापति शेरबहादुर देउवा र विजयकुमार गच्छदारले सबै चुनाव जितेर कीर्तिमानी नै बनाएका छन् भने एमालेका अध्यक्ष केपी ओली, रामचन्द्र पौडेल, झलनाथ खनाललगायले ६ वटै निर्वाचनमा भाग लिएका छन् । अब यी नेताहरु आगामी मंसिर ४ को चुनावी कसरतमा पनि लागिरहेका छन् ।

चुनाव लडेर कहिल्यै नथाक्ने नेताहरुको बीचबाट बल्ल तल्ल नयाँ अनुहारले आशातित रुपमा निर्वाचनमा सहभागी हुँदैछन् । कतिपय स्वतन्त्र र पार्टीहरुका उम्मेदवार पनि अनुभवकै लागि चुनाव लडिरहेका छन् । चुनावी प्रतिष्पर्धामा नयाँ अनुहार मैदानमा देखिनु सकारात्मक नै भए पनि वर्षाैदेखि आफ्नै विरासत बनाएकाहरुलाई पराजित गर्न भने फलामको चिउरा चाउनु जस्तै मुश्किल देखिन्छ ।