Breaking

ईश्वर र प्रदीपको भीडन्तः ईश्वर भन्छन् जित्ने मै हुँ, प्रदीप भन्छन् युवाका साथमा रोकेरै छाड्छौं


काठमाडौँ — चुनाव घोषणाअघि देखि नै चर्चामा रहेको काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् । उनीहरुको दैनिकी मतदाता रिझाउन ठाउँ ठाउँमा आयोजना गरेको कार्यक्रममा सामेल हुँदैमा बितिरहेको छ । राष्ट्रिय राजनीतिका हेभीवेट नेता र जनतामाझ लोकप्रिय उम्मेदवारहरु भएको काठमाडौँ क्षेत्र नम्बर ५ को चुनावी भिडन्त रोमाञ्चक बन्दै गएको छ । डाँडाँगाउँ देखि हाँडि गाउँसम्मको भूगोल समेटिएको क्षेत्र नं. ५ मा विभिन्न समुदायको बसोबास छ ।

नेवार, तामाङदेखि हरेक जातजातीको थाकथलो भएको यो क्षेत्रमा ७७ वटै जिल्लाबासीको उपस्थिति छ । यसै क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका लोकप्रिय युवा नेता प्रदीप पौडेल राजधानी हेरेर नै देश चिनिने तर्क गर्छन् । तनहुँबाट टिकट नपाएपछि उनी अहिले आफ्नो मुद्धा र जित्ने आधार लिएर काठमाडौँ ५का मतदाता रिझाई रहेका छन् ।

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा पनि असफलताको स्वाद चाखिसकेका उनी पहिलो पटक संघीय चुनावमा हिस्सा खोज्दैछन्। हारको स्वाद चाखेर निखारिएका पौडेल त्यसैलाई ठूलो हतिहार बनाएर युवा शक्तिको विदेश पलायन, भष्ट्राचार र विकासको मुद्धालाई आफ्नै भाषामा बीसीडी मोडलभन्दै चुनावी प्रचारमा हिडेका छन् ।

२०७४ को निर्वाचनमा भारी मतले विजयी भएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि यसै क्षेत्रका उम्मेदवार हुन् । तत्कालिन समयमा नेपाली कांग्रेसका प्रवत्ता प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतान्तरले हराएका उनै पोखरेल फेरि दोहोरिने दाउँमा छन् । एमालेको राम्रो पकट देखिएको यो क्षेत्रमा पोखरेलले राष्ट्रिय खेलाडीहरुको पनि साथ पाएका छन् । पाँच वर्षमा एमालेले गरेको कामलाई निष्कर्षमा पुर्याउन पनि आफूले जित्नुको विकल्प नरहेको उनी दावी गरिरहेका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा सम्मानीत मत ल्याएर चर्चाको शिखरमा पुगेकी रञ्जु दर्शनाले पनि क्षेत्र नं. ५ बाट नै स्वतन्त्रतर्फ उम्मेदवारी दिएकी छन् । त्यस्तै कलाकार मधुसुदन पाठक (सीतेबा), हेमराज थापालगायतका १४ स्वतन्त्र गरि ३० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ७० हजार ९ सय १९ मतदाता रहेको यहाँ काठमाडौँ महानगरपालिकाका २ देखि ५, टोखा नगरपालिकाका २ देखि ७ र बूढानीलकण्ठ नगरपालिकाका ३ देखि ६ गरी जम्मा १५ वडा समेटिएका छन् ।

कांग्रेसको प्रवक्ता प्रकाशशरण महत देखि पूर्व महामन्त्री शशांक कोइराला जस्ता शीर्ष नेतृत्वहरुको बसोबास भएको क्षेत्र हो । राष्ट्रपति कार्यालयदेखि शहरी र गाउँको सम्मिश्रण भएको यो क्षेत्रमा हाल प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने दुई ठूला पार्टीका नेता ईश्वर पोखरेल न त्यहाँको रैथानले हुन् न नै प्रदीप पौडेल । काठमाडौँलाई साझा भूमि भनेर तर्क गर्ने यी दुईमध्ये सो क्षेत्रका मतदाताले कस्लाई चुन्लान ? मंसिर ४ पछिको चुनावी नतीजाले मात्र यो उत्सुकताको अन्त्य हुनेछ ।