Breaking

एमालेले चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्ने


काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने जानकारी दिए । उनका अनुसार हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्नेछन् ।

ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । अहिले यहाँबाटै अभियान सुरू गरिनुलाई आफ्नो सरकारको पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको मुद्दालाई एमालेले यो चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएको छ ।

प्रदेश सचिव पाठक पनि एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गर्छन् ।