Breaking

तिहार नेपालको विशिष्ट मौलिक पर्व : प्रधानमन्त्री देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार नेपालको विशिष्ट मौलिक पर्व भएको बताएका छन् ।

तिहारको अवसरमा शुभकामना दिँदै देउवाले यो पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको स्नेहसमेत प्रगाढ बनाउन मद्दत पुर्‍याएको बताएका छन् ।

तिहारको अवसरमा खेलिने देउसी भैलोलगायत साँस्कृतिक नाचगानले समाजमा शान्ति, सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको सन्देशमा उल्लेख छ ।

उनले तिहार–२०७९, नेपाल संवत् ११४३, म्हपूजा तथा किजापूजाको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।