समाचार

सर्लाहीमा पोखरीभित्र ८ वर्षीया बालिकाको शव भेटियो


काठमाडौँ — सर्लाहीको कबिलासीको एक पोखरीमा ८ वर्षीया बालिकाको शव भेटिएको छ । कबिलासी नगरपालिका-४, जमुनियाँ निवासी सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव सोमबार दिउँसो घरनजिकै पोखरीमा डुबेको अवस्थामा फेला परेको हो ।

बालिका नुहाउने क्रममा पोखरीमा डुबेको आफन्तले बताएका छन् । पोखरीमा डुबेर बालिका अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकालाई पोखरीबाट निकाले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाँ पुर्‍याउदाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पोस्टमार्टमपछि बालिकाको शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।