Breaking

गठबन्धलाई जिताउन देउवा–प्रचण्ड–माधवको दौडधुप,ओलीलाई गाली गरेर चुनाव जित्ने दाउ !


काठमाडौँ — आसन्न मंसिर ४ को निर्वाचनलाई लिएर सत्ता गठबन्धनका नेताहरुको सक्रियता एकाएक बढेको छ । घोषणापत्र र एजेण्डा विना केवल कार्यकर्ता र जनतामा चुनावी माहोल सिर्जना गर्न उनीहरु देशदौडाहमा छन् । प्रतिगमनकै शब्द भजाएर भोट बढाउने रणनितिमा रहेका उनीहरु तिहार अघिको अन्तिम भेला वागमतीमा सम्पन्न गरेका छन । आसन्न निर्वाचनमा वहुमत र आगामी पाँचबर्ष स्थायी सरकारको सपना बाडेर चुनावी तालमेलमा गएका सत्ता घटक दलहरु चुनावी सभामा व्यस्त छन ।

भोट ट्रान्सफर नहुने चिन्तामा रहेका उनीहरु सभामार्फत नेता कार्यकर्तालाई गठबन्धनप्रति प्रतिवद्ध बन्न प्रेरित गरिरहेका छन । आज भन्दा एक हप्ता अघि सत्ता गठबन्धनका प्रमुख तीन नेता काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा थिए । नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई चुनाव जिताउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोट मागे ।

मंगलबार ललितपुरमा तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसहित अगुवा कार्यकर्तालाई एकै ठाउँमा राखेर तीनै नेताले प्रशिक्षण दिए ।गठबन्धनका नेताहरुको संयुक्त दौड झनपछि झन बढ्यो । शुक्रबार एकैदिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा सभा गर्न भ्याएका उनीहरु शनिबार प्रदेश एकको विराटनगर र मधेश प्रदेशको जनकपुरधाममा थिए । आइतबार सुदूरपश्चिमको धनगढीमा संयुक्त सभालाई सम्बोधन गरेका उनीहरुले सोमबार काठमाडौंमै फर्किएर गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयास दोहोराएका छन ।

यहि क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै अहिलेको सत्तारुढ गठबन्धन नबनेको बताएका छन् । यसलाई संविधान र व्यवस्था रक्षाको वाध्यताका रुपमा अथ्र्याएका उनी अहिलेको निर्वाचन प्रणालीबाट चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुका विकल्प नभएको बताउने गरेका छन् ।
आफूले उम्म्दवारी नदिएर त्यागी बन्दै छोरी जिताउन हिडेका नेपाल लोकतान्त्रिक पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयत्न गरे ।

गठबन्धनभित्र कतिपय विषयमा असहमति रहे पनि साझा उम्मेदवारलाई जिताउन आह्वान गरेका उनी केहि साहित्यीक पनि सुनिए । ‘चर्को घामले सताइरहेका वेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर आफ्नो चिन्ह छान्दै भोट हाल्नुहुनेछ भन्ने विश्वास लिएको बताएका उनले सत्ता गठबन्धनसँग एमाले गठबन्धनको तुलना गर्न नमिल्ने तर्क गरे । जहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावलाई परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचको महासङ्ग्रामका रुपमा अथ्र्याए । उनको पनि रेडिमेड तर्क थियो – यो गठबन्धने उदेश्य केवल जित हैन ।

आन्तरिक असन्तुष्टि जाहेर गर्नु र विपक्षीविरुद्ध विष फाल्नु पनि गठबन्धनका नेताहरुको नीति बनेको छ । फलत ः नेता कार्यकर्तालाई विश्वस्त पार्न पुरानै अभिव्यक्ती दोहोराएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन लामो यात्रा भएकाले जित्नुपर्ने जिकिर गरे ।

संयुक्त अभियान जारी रहने बताएका उनले साझा उम्मेदवारले नजिते प्रतिगमनकारीको मनोबल बढ्ने तर्क गरे । केवल विपक्षीलाई गाली गरेर आफूलाई प्रमाणित गर्नमा आफ्नो समय खर्च गरेका उनले संविधान ल्याउनु र बयलगाडा चडेर अमेरिका पुग्नुु एउटै हो भन्ने बयलगाडाका सिद्धान्तकारहरु पनि अहिले जिउँदै रहेको सम्म भन्न भ्याए ।

अन्तर दल तथा दलभित्रको आन्तरिक अन्तुष्टिले दवावमा रहेको सत्ता गठबन्धन आफूलाई प्रमाणित गर्नुपर्ने बाध्यतामा छ । त्यसका लागि कहिले अव भविष्य गठबन्धनको मात्र भएको बताउने त कहिले आफ्नो सरकार बनेपछि राजनितिक नियुक्तीमा ठाँउ दिने आश्वासन समेत शीर्ष नेताहरुले बाढिरहेका छन ।

यतिमात्र नभएर सत्ताघटक सबै दल नै एकै हुने जसरी शिर्षस्थ नेतृत्व नै प्रस्तुत भईरहेको छ । त्यसैकोश्रृखला शिर्ष नेताहरुको उपस्थितीमा देशका विभिन्न स्थानमा भेला गरेको गठबन्धनले पनि केवल विपक्षीलाई गाली गर्ने भन्दा माथि उठ्न भने सकेको छैन ।