काठमाडौँ—अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला परेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएअनुसार राजधानी कम्पालामा थप ९ जना इबोलाका बिरामी फेला परेका हुन् । यससँगै पछिल्ला दुई दिनमा त्यहाँ इबोलाका १४ जना बिरामी फेला परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । युगान्डाको मध्य भागमा गत सेप्टेम्बरदेखि इबोलाका प्रकोप देखिएको छ ।
१६ लाख जनसङ्ख्या रहेको कम्पालामा यही महिनाको सुरुबाट इबोलाका बिरामी देखिन थालेका थिए । कसान्डा जिल्लाबाट आएका एक जना बिरामीबाट पहिलो पटक इबोला भाइरस कम्पाला प्रवेश गरेको जनाइएको छ । बिरामी भई कम्पालामा उपचारका लागि आएका ती बिरामीको पछि मृत्यु भएको थियो। आइतबार फेला परेका ९ जनामध्ये ७ जना मृतकका परिवारका सदस्य रहेको र उनीहरु कम्पालाको मसानाफू क्षेत्रका बासिन्दा रहेको युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एकेङले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।
युगान्डाका स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्मानुएल ऐनिब्याउनाले कम्पालामा देखिएका सबै बिरामीहरु आइसोलेसनमा रहेको जनाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डामा इबोलाका ९० पुष्टि भएका वा संकास्पद बिरामीहरु देखा परेका छन् । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया