काठमाडौँ — बलात्कार मुद्दामा पक्राउ परेका सन्दीप लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको बताए ।
मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहे अनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ । सोही अनुसार प्रहरीले फाइल पेस गरेको छ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपले बलात्कार गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले १२ वर्षसम्म कैद सजाय मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।
शुक्रबार नै अनुसन्धान फाइल सरकारी वकिल पुगे पनि सोमबारबाट तिहारको बिदा भएकाले तिहारपछि मात्रै थुनछेक बहस हुने सम्भावना रहेको छ । सरकारी वकिल कार्यालयले भने आज आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी थालेको छ ।
अदालतले थुनछके बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् । सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको दाबी छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइएको थियो।


प्रतिक्रिया