Breaking

गगन थापालाई आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेकाे छ ।

‘फेरि पनि काठमाडौं क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने व्यहोराको ट्वीट गरिएको भनी आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता लागू भई सकेको जानकारी हुँदा हुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।’