काठमाडौँ—भारतले टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई चार विकेटले पराजित गरेको हो ।मेलबर्न क्रिकेट मैदानमा भारतलाई जितका लागि अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । बलिङमा पाकिस्तानका मोहम्मद नवाज थिए। अन्तिम ओभरको पहिलो बलमै हार्दिक पाण्डेयको विकेट लिएका नवाजले त्यसपछि एक रन र तेस्रो बलमा दुई रन दिए । तर, चौथो बलमा भने नो बल फ्याके । जुन नो बलमा विराट कोहलीले छक्का प्रहार गर्दै टिमलाई जित नजिक पुर्याएका थिए ।
पाँचौँ बलमा दिनेश कार्तिकको विकेट लिए पनि अन्तिम बलमा एक रन लिँदै भारतले पाकिस्तानविरुद्ध चार विकेटको रोमाञ्चक जित निकाल्यो ।१६० रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले खराब सुरुआत गरेको थियो । भारतले चार विकेट गुमाउँदा मात्र ३१ रन बनाएको थियो । भारतका केएल राहुलले चार, कप्तान रोहित शर्माले चार, सूर्यकुमार यादवले १५ र अक्षर पटेलले दुई रन बनाए । तर, क्रिजमा विराट कोहली र हार्दिक पाण्डेय थिए । यी दुई खेलाडीले भारतलाई ११३ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । विराटले अविजित ८२ रन बनाए । उनले ५३ बलको सामना गर्दै ६ चौका र चार छक्का प्रहार गरे । त्यस्तै, हार्दिकले ४० रनको योगदान दिए ।
पाकिस्तानका लागि हरिस राउफ र मोहम्मद नवाजले समान २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पाकिस्तानका सान मासोदले अविजित ५२ रन बनाए । त्यस्तै, इफ्तिखर अहमदले ३४ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै अर्धशतकसँगै ५१ रन बनाए । साहिन साह अफ्रिदीले आठ बलमा १६ रन बनाएका थिए । बलिङतर्फ भारतका हार्दिक पाण्डेय र अर्शदिप सिंहले समान ३–३ विकेट लिए ।
प्रतिक्रिया