Breaking

प्रधान सेनापति र संयुक्त राष्ट्रसंघका सैनिक सल्लाहकारबीच भेट


काठमाडौँ— प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालय अन्तर्गत अफिस अफ मेलेटेरी अफेयर्सका सल्लाहकार जनरल बिराम डिओपबीच सैनिक मुख्यालय जङ्गी अड्‌डामा आइतबार भेटघाट भएको छ ।संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन जनरल डिओप नेपाल आएका हुन् ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकहरूको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।छलफलका क्रममा जनरल डिओपले नेपाली शान्ति सैनिकहरूले विभिन्न शान्ति मिशनहरूमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सो को निरन्तरता हुने विश्वास व्यक्त गरे ।त्यसैगरी प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग तथा अवसरको लागि जनरल डिओपलाई धन्यवाद दिनुका साथै यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

साथै उनले नेपाली सेना अझ पेशेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनहरुमा खटिने कटिबद्धता व्यक्त गरे ।संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको यस किसिमको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले जनाएको छ ।