Breaking

गठबन्धनमै फैलियो डरत्रास, ठूला नेतानै हार्दैछन् चुनाव, एमालेको भोट नपाउनेमा राप्रपा–जसपा सशंकित


काठमाडौँ — सत्ता गठबन्धनका पाँच दलसहित सबैदलहरु चुनावमा होमिएका छन् । उनीहरुको मुख्य कार्यदिशा कसरी भोट बढाउन सकिन्छ भन्नेमा केन्द्रीत छ । तर गठबन्धनकै भर र गठबन्धनकै डरले उनीहरुलाई हायलकालय पारेको छ । गठबन्धनकै भर, गठबन्धनकै डर । प्रचण्डलाई दुःख छ, माधवलाई पनि दुःख छ । तर देउवालाई ढुक्क छ । चुनाव जित्नकै लागि लाल सलाम जय नेपाल बनेको छ । जय नेपाल भन्नेहरु मुठ्ठी उठाउन थालेका छन् । तर पनि गठबन्धनभित्रबाटै मत नपाएर हारिन्छ कि भन्ने डर सबैदलमा हलचल मच्चाउने गरि बढीरहेको छ ।

गठबन्धनको मत नपाए पनि आफ्नै पार्टीको भोटले जित्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाकै महामन्त्री गगन थापासहित गत निर्वाचनमा बामगठबन्धनविरुद्ध चुनाव जितेका २३ उम्मेदवारमध्ये२१ नै ढुक्क देखिन्छन् ।तर काँग्रेसकै रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला र चन्द्र भण्डारी, अनि रमेश लेखक र एनपी साउदजस्ता नेतालाई अझै डरले मुटु कमाइरहेको छ ।

यही निर्वाचनबाट डेब्यु गरेका धनराज गुरुङ रगुरु घिमिरेलगायतका नेताहरु पनि गठबन्धनकै बलमा चुनाव जित्ने पक्षमा छन् । काँग्रेसबाहेक गठबन्धनको शक्तिशाली दल नेकपा माओवादी केन्द्रमा पनि अलिअलि अध्यक्ष प्रचण्ड ढुक्क छन् ।माओवादीकै प्रमुख आधार इलाका रोल्पामा भने बर्षमान पुन ढुक्क छन् । तर उनकै श्रीमती ओनसरी घर्ती काठमाडौं २ मा छटपटीमा छिन् ।

गोरखामा प्रचण्डले जिते रोल्पामा बर्षमानले जित्नसक्छन् । यद्यपी दुईतिन सिटबाहेक अन्य स्थानमा माओवादीलेआफुलाई चुनौती महसुस गरिरहेको छ । किनकि आधार इलाका रुकुमपश्चिमतिर जनार्दनको माहोल विग्रिएपछि काँग्रेसकै भर पर्नुपर्ने अवस्था छ । काठमाडौं ७ मा बाबुरामकि छोरी मानुषीको अवस्था पनि गठबन्धनकै थाप्लोमा परेको छ ।

तर काँग्रेसभित्र शेखर समूहले लिइरहेको अडान र असन्तुष्टिको असर माओवादीको भोटमाथि पर्ने डर प्रचण्डमा देखिन्छ । यसैकारण शुक्रबार प्रचण्डले रुपन्देहीमा भने, ‘हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने, हारे सबैले हार्नेवाला छौं ।’ प्रचण्डलेदुविधा देखाएर सत्तागठबन्धनका उम्मेदवारलाई भोट नहाले पाप धुरीबाट कराउने दाबी समेत गरेका छन् ।

काँग्रेस र माओवादीभन्दा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई झनै डर बढेको छ । पार्टी विभाजनको एकबर्षमै संसदीय निर्वाचनमा होमिएपछि गठबन्धनकै भर र गठबन्धनकै डरमा रहनुपर्ने बाध्यता माधव नेपाललाई छ ।किनकि यो पार्टीमा झलनाथ खनालदेखि रामकुमारी झाँक्री, प्रकाश ज्वालादेखि विरोध खतिवडा र प्रेम आले जस्ता विगतमा एमालेबाट निर्वाचितसबैलाई गठबन्धनकै भरथेक छ ।

गठबन्धन इमान्दार नभएर भोट ट्रान्सफर नभए चुनाव हारिन्छ भन्ने डरले थुरथुर पारेको छ । उस्तै डर सत्ता गठबन्धनबाट बाहिरिएको जसपालाई पनि छ । गठबन्धनमा कम पाएपछि बढी पाउन एमालेसँग तालमेल गरेको जसपालाई एमालेकै भोट नपाउने डर बढेको छ ।

नेकपा एमाले पहिले हूति नभएकाले गठबन्धन गर्छन् भन्दै आएको थियो । तर आफ्नै पार्टी अध्यक्षको निर्वाचन क्षेत्रमा ढुक्क हुने अवस्था नभएपछि राप्रपासँग गठजोड गरेको छ ।राप्रपाबाट भोट नपाएर हारिन्छ कि भन्ने डरकै कारण ओलीले गठबन्धन गरेका छन् ।जुन ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रबाहेक अन्य स्थानमा प्रभावकारी देखिएको छैन । फलतः एमालेसँगै गठबन्धन गरेको राप्रपालाई पनि ढुक्क हुने अवस्था छैन भने एमालेमै समेत डर पैदा भएको छ ।

जीवनभर रुखमा भोट हालेकाहरु मर्नेबेला हसिँया हथौडामा हाल्न तयार छैनन् । हसिँया हथौडावालाहरु पनि त्यस्तै मनोविज्ञानमा छन् । जुन यसअघि स्थानीय तहको निर्वाचनमा पनि देखिएको थियो । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले मात्रै पाएको मतलाई विश्लेषण गर्दा सत्ता गठबन्धनको पक्षमा ६५ लाख ४८ हजार मत आएको थियो ।

त्यसमध्ये कांग्रेसले प्राप्त गरेको मत ३९ लाख ५६ हजार अर्थात (६०.८६ प्रतिशत) छ । फलतः काँग्रेसबाटै पुरापुर मत नपाए गठबन्धनभित्रै गठबड हुने र निर्वाचनपछि सरकार बनाउँदा फरक समिकरण बन्नेसम्मको विश्लेषण अहिल्यै सुरु भएको छ ।