Breaking

प्रतिष्पर्धी उम्मेदवारमाथि नेता केसीको कटाक्षः उहाँलाई सिंहदरबार कहाँ हो सोध्दै हिँड्नुपर्छ


काठमाडौँ — नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले आगामी चुनाव जित्नु नै आफ्ना लागि पहिलो महत्वपूर्ण कुरा भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काठमाडौंवासी सोलुखुम्बुका मतदाताहरुलाई चुनाव अगावै आगामी निर्वाचनमा भोट हाल्न पठाइदिन काठमाडौंस्थित पार्टी समन्वय समितिहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले मतदातालाई जिल्ला पठाउँदा अन्य पार्टीका मानिसहरु पनि त्यही हुलमा मिसिनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । उहाँले नामै किटान गरेर नेकपा एमालेका कार्यकर्ताहरु पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जानसक्ने आरोप लगाउनु भयो । उहाँले आफू ६ पटक निर्वाचन लडिसकेको अनुभवका आधारमा विगतमा पनि यस्ता गतिविधि भएको भन्दै यसवर्ष गठबन्धन भएका कारण एउटाले अर्कालाई नचिन्ने नाममा गठबन्धनको सवारीसाधन प्रयोग गरी नेकपा एमालेका मतदाताहरु जिल्ला पुग्नसक्ने बताउनु भयो ।

उहाँले वि.सं.२०६४ मा नेकपा (माओवादी केन्द्र) ले पनि काँग्रेसले पठाएका मानिसको हुलमा आफ्ना कार्यकर्ता पठाएका कारण आफूले निर्वाचनमा पराजय व्यहोर्नुपरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रा तीनै दलका शुभचिन्तक मतदातालाई हरेक गाउँका सम्पर्क समितिका अध्यक्षलाई समन्वय गरी मंसिर ४ गते भन्दा अगाडि भोट हाल्नका लागि यहाँबाट तपाईहरुले पठाइदिनुपर्छ । यो भेलाले पुग्दैन । किनभने चुनाव जित्ने पहिलो कुरा हो ।

तर मतदातालाई पठाउँदा के विचार गर्नुपर्छ भने घुसपैठ होला, सबै काँग्रेस भन्लान्, काँग्रेसले माओवादी माओवादीले काँग्रेस चिन्दैन । त्यो भित्र एमालेले आफ्ना मान्छे पठाउन सक्छ । यो मेरो अनुभव छ । एक पटक काँग्रेसका पठाएको भनेको माओवादी चलाख सबै माओवादीका परेछन् । परिणाम मैले हारेँ । प्रश्न चुनाव जित्नु हो ।’ सोलुखुम्बु जिल्लाबाट गठबन्धनको बलमा उम्मेदवारी दिनुभएका नेता केसीले नेकपा एमालेबाट सोलुखुम्बु जिल्लामा उम्मेदवारी दिनुभएका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिसलाई जनताले चुन्नु नहुने बताउनु भयो ।

उहाँले एमाले उम्मेदवार राईले सिंहदरबार कहाँ छ ? भनि सोध्नुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले एमाले उम्मेदवार राई आफैँ बलबहादुर केसीसँग कहाँ जित्नु भनेर हिँडेको आरोप लगाउनु भयो । उहाँले आफूलाई सिंहदरबारमा कहाँ ढुकुटी छ र कहाँ फाइल छन् भन्नेकुरा सबै थाहा भएको तर नेकपा एमालेका उम्मेदवारको केन्द्रसँग कुनै लिंक नभएको भन्दै आफूलाई जिताए जिल्लामा विकास निर्माणले गति लिने बताउनु भयो ।

उहाँले बहुमतको सरकार बनाउँदा समेत नेकपा एमालेले प्रदेश १ को नामाकरण गर्न नसकेको भन्दै एमालेलाई जिताउनु नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेलाई किन जिताउने १ नम्बर प्रदेशको नाम नै राख्न सकेन । मुख्यमन्त्री भए नाम राख्न सकेका छैनन् । केही गर्न नसक्नेलाई पठाएर केही हुनेछैन । नेपाली काँग्रेस र गठबन्धनलाई केन्द्रमा जिताउनु भयो भने सिंहदरबार कहाँ छ, कुन कोठामा ढुकुटी छ, कुन कोठामा फाइल छ मलाई थाहा छ, निकालेर ल्याएर सोलुका जनताका लागि सेवा गर्छु । हाम्रो एमालेका नेतालाई पुतली सडकमा गएर ए दाजु कता हो सिंहदरबार भन्नुपर्ने अवस्था छ ।

उनीहरुले त्यस्तो नेतृत्व अघि सारेको छ । उहाँलाई केन्द्रको केही थाहा छैन । बलबहादुर दाईसँग के जितिन्छ र नलडिकन पनि भएन भन्दै हिँड्नुहुन्छ ।’नेता केसीले गठबन्धनले देश, जनता र संविधानलाई फाइदा हुने काम गर्ने दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थाको गाउँको फोटो खिचेर राख्न र आफूले जितेको ३ वर्षपछिको परिवर्तनसँग सोलुखुम्बुको मूल्यांकन गर्न चुनौती दिनुभयो । गबठन्धनका ५ दल मिल्दा पनि नेकपा एमालेले जितेको खण्डमा गठबन्धनका कुनै दलको पनि अस्तित्व नरहने उहाँको भनाइ थियो ।