Breaking

मत माग्ने क्रममा युवा नेता प्रदीप पौडेल पुगे स्वर्गिय नेता उज्जवल थापा निवास


काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गिय नेता उज्जवल थापा निवास पुगेका छन् । उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गिय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशिर्वाद लिएका छन् । उनले मातापितासँग स्वर्गिय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई आफूले अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । सो क्रममा थापाकी माता शान्ताले नेता पौडेललाई जीतको शुभकामना दिएकी थिइन् ।

नेता पौडेलले यसअघि चर्चित अभिनेता हरिवंश आचार्यको बूढानीलकण्ठस्थित निवास पुगेर आशिर्वाद लिएका थिए । कात्तिक २ गते मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए । बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो ।

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने । पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन् । पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो ।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ । यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन् ।

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए ।