Breaking

गठबन्धनले बहुमत ल्याएमा टिकट नपाउनेहरुलाई अवसरै अवसर हुन्छ: प्रचण्ड


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरुले अवसरै अवसर पाउने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका हुन् ।

‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, उनले भने, ‘अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के । हारियो भने चाहिँ हामी सबैको हालत खराब ।

चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्ट हरु पनि खुशी हुने प्रचण्डले बताए । ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्’ प्रचण्डले भने ।