काठमाडौँ — फिफा विश्वकपको मिति नजिकिएसँगै फुटबल प्रेमीदेखि खेलाडीहरु पनि उत्साहीत छन् । कतिपय खेलाडीका लागि यो विश्वकप पहिलो हुँदै छ भने अहिलेका दुई महान् खेलाडी रोनाल्डो र मेस्सीका लागि अन्तिम पनि । फिफा विश्वकप आउन अब मात्र ३० दिन बाँकी छ । फुटबल प्रेमीहरुको ४ वर्षको प्रतीक्षा समिपमा आइपुगेको छ । विश्वकपमा आफ्ना प्रिय खेलाडीको प्रदर्शन हेर्न दर्शक आतुर छन् । त्यस्तै यो समयको चर्चित दुई खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको जादुमयी प्रदर्शनको मज्जा लिन पनि फुटबल प्रेमीहरु उत्साहीत छन् ।
उनीहरु उत्साहीत यस कारण पनि छन् कि सम्भवतः यी दुवै खेलाडीको यो नै अन्तिम विश्वकप हुनेछ । अर्जिन्टाइन फुटबलर मेस्सीले त आफ्नो यो नै अन्तिम विश्वकप हुने घोषणा नै गरिसकेका छन् भने रोनाल्डोले भने यो विश्वकपपछि पनि खेल्न सक्ने बताएका छन् । यद्यपि उनको बढ्दो उमेरले गर्दा उनको पनि यो नै अन्तिम विश्वकप हुने सर्वत्र आँकलन गर्न सकिन्छ । यत्रो वर्ष फुटबलबाट रमाईलो पन दिएका यी दुईको खेल हेर्ने अवसर पाएकोमा फुटबल प्रेमीहरु आफुले आफैलाई भाग्यमानी सम्झन्छन् । आफुले आदर्श मानेका खेलाडी भएर पनि होला फुटबल प्रेमीहरु यी दुईको खेलको व्यग्र प्रतीक्षामा छन् ।
रोनाल्डो ३७ र मेस्सी ३५ वर्षका भइसकेका छन् । २०२६ मा आयोजना हुने अर्को विश्वकपमा यी दुई खेलाडीलाई देख्न पाइने सम्भावना ज्यादै न्यून छ । पाँचौँपटक विश्वकपमा सहभागिता जनाउँदै गरेका उनीहरू क्लब फुटबलमा अवार्ड र कीर्तिमानका जति नै पहाड खडा गरे पनि विश्वकप फुटबलमा भने चुक्दै आएका छन् । त्यसैले रोनाल्डो र मेस्सी स्वयं पनि कतार विश्वकपलाई अविस्मरणीय बनाउन चाहन्छन् ।
तर, एक खेल पनि नहारी विश्वकपको यात्रा तय गरेको अर्जेन्टिना र प्लेअफबाट विश्वकपमा आईपुगेको पोर्चुगलका यी दुईलाई सहज भने छैन ।पछिल्लो डेढ दशकयता मैदानबाहिर एउटा अनिर्णीत बहस छ, ‘रोनाल्डो र मेसीमध्ये को सर्वकालीन महान् ?’ खेलजगत्ले अहिलेसम्म यसको स्पष्ट जवाफ पाएको छैन ।
फुटबल मैदानभित्र यी दुई खेलाडीले पछिल्लो डेढ दशकमा पटक–पटक आफूलाई अब्बल साबित गरेका छन् । क्लब फुटबलमा त्यस्ता कुनै उपाधि बाँकी छैनन्, जुन यी दुईले हासिल गर्न नसकेका हुन् ।अधिकांश कीर्तिमान यिनैका नाममा छन् । बालिन डिओर, फिफा वर्ष खेलाडी, गोल्डेन बुटजस्ता अधिकांश व्यक्तिगत अवार्ड पनि यिनकै पोल्टामा परेका छन् । तर, क्लब फुटबलमा यी सर्वाधिक सफल खेलाडीले विश्वकप फुटबलको उपाधि भने उचाल्न सकेका छन् ।
सायद, त्यसैले पनि उत्कृष्टताको होड अनिर्णीत बनेको छ ।आगामी २० नोभेम्बरबाट सुरु हुने कतार विश्वकप फुटबल यी दुईका सपना साकार पार्ने अन्तिम अवसर त हो नै, एउटा त्यस्तो मापक बन्ने सम्भावना पनि छ, जसले लामो समयदेखि चलेको उत्कृष्टताको बहसलाई पूर्णविराम लगाउन सक्छ ।
प्रतिक्रिया