Breaking

संघीय व्यवस्थालाई कमजोर बनाउन केही शक्ति लागिपरेको छ: देउवा


काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरू संघीयता, गणतन्त्र, समावेशीता खतरामा परेकोले त्यसको रक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । प्राप्त उपलब्धि बचाउनका लागि संविधानको रक्षा गर्नुपर्ने उनले बताए । आज लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले गरेको भेलामा बोल्दै प्रधानमन्त्री देउवाले प्राप्त उपलब्धिको खिलापमा एउटा शक्ति लागिपरेको बताए ।

‘गठबन्धनका खिलापमा तागत लागिपरेको छ । राजावादी तागत नै राष्ट्रवादी भन्न थालिसके, हद हुन्छ नि उनले भने, ‘हामी अराष्ट्रिय देशका लागि लडेर परिवर्तन ल्याउने हामी अनि अराष्ट्रिय राजावादी राष्ट्रवादी भन्ने होइन । उनले राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी आफूहरू रहेको बताए । ‘असली मानेमा राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी हामी हौं। त्यसैले जय नेपाल, लालसलाम र अभिवादन गर्छौं,’ उनले भने ।

उनले लडाइँ लडेर ल्याएको संविधानसभा र त्यसबाट बनेको संविधान तथा गणतन्त्र एवं संघीय व्यवस्थालाई कमजोर बनाउन केही शक्ति लागिपरेको पनि बताएका थिए । अहिलेको प्रणालीलाई खतम पार्न र गणतन्त्र, समावेशीतालाई कमजोर पार्ने प्रयास भइरहेका छन्। नेपाल महत्वपूर्ण मोडमा छ। परिवर्तनकारी शक्ति हामी हौं, मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘मलाई साथीहरूले प्रधानमन्त्री बनाउनुभयो। गठबन्धनलाई झन् बलियो बनाउने कर्तव्य कांग्रेसमाथि छ ।’

उनले गठबन्धन बचाउनु अति आवश्यक रहेको पनि बताएका थिए। उनले कुनै पनि शंका र उपशंका नराख्न पनि आग्रह गरेका थिए । अझै केही वर्ष नेपालमा समावेशीता, संविधान, गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ,’ उनले भने । गठबन्धन छ, जितिहाल्छु भन्ने सोचले धेरैले टिकट मागेको र उम्मेवार हुन चाहेको बताउँदै उनले सबैलाई टिकट दिन नसकिने बताएका थिए। टिकट नपाएकाहरूलाई पार्टीले पछि भूमिका दिने उनको भनाइ थियो ।