Breaking

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नु पर्छ : प्रदीप पौडेल


काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका वडा नं ३ र ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता पौडेलले भ्रष्ट्राचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए । कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम रु कसरी भ्रष्ट्राचार रोकिन्छ ।

त्यसैगरी स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताए । स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन् ।’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाँबाट मुक्त हुनु पर्दछ । कार्यक्रममा बोल्दै नेता पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप लगाए । आफूसँग नेकपा एमालेबाट प्रतिष्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको टिप्पणी गरे ।

साथै आफूहरुले न्यायालय सुधारदेखि अख्तियारको निष्पक्षतासम्मका लागि योजना बनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो । उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो । उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नु भयो ।’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ । नेता पौडेलले संसदमा समावेशी प्रतिनिधित्व रहेको बताउँदै संसदलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणमा लैजान आफूहरु लागि परेको पनि बताए ।

संसदलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट समावेशी बनाऔँ भनेर पनि हामीले प्रस्ताव गरिरहेका छौँ ।’ उनले भने । त्यस्तै काठमाडौंका मतदाताहरुले आफ्नो ठाउँको विकास र न्यायको लागि मत हाल्न समेत आग्रह गरेका छन् । नेता पौडेलले निर्वाचन अघि सुरु भएको केही गठबन्धनको यात्रा आगामी ५ वर्षसम्म रहनेमा समेत जोड दिएका छन् ।