देश

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने वेदुराम भुसालको तर्क


काठमाडौँ— नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको दाबी गरे। उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए।

आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने उनको भनाइ छ। महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने चिन्ता व्यक्त गरे। उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए।