काठमाडौँ— क्षेत्र नम्बर १, दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् । घोराही–२, पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले आफुले विकासका काममा यो दल त्यो दल भन्ने नगरेको बताए ।
सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँको र फेरि फिनिसिङ गर्नका लागि रु १ करोड थप रकम उपलब्ध गराउने किनकि विपी कोइराला उहाँको पनि नेता हुनुभएको बताएका छन् । उनले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट नदिएको र यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गरेको हुदाँ उहाँहरुको लागि पनि भवन बनाइने बताएका छन् ।
साथै सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरुलाई बोलाएरै बाँडफाँड गरेको बताए । विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी भएको र जनतालाई विभाजन गरेर कसैको हित नहुने मन्त्री चौधरीले बताएका हुन् ।
प्रतिक्रिया