काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले धेरैले प्रतिक्षा गरेको सुविधा सम्पन्न बाइक आरवान १५ भि ४ आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । बिहीबार पत्रकारसम्मेलन गरी आफ्नै ब्लू स्क्वायर शोरूम, नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरू मध्ये एक रहेको कम्पनीको ठहर रहेको छ ।
आर १५ को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतःट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सिसि एफ्आई इन्जिनमा भिभिए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू लेभलसिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आरवान १५ भि ५ १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ ।
त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ । आरवान १५ भि ४को विशेषताहरूबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहे अनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाकमोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीटमोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।
कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल- न्यूआरवान १५ भि ४, १५५ सिसि एलसिभी एसओएच्सी फ्युल इन्जेक्टेड ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो ।चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँन राखिएको ट्रयाक्शन कन्ट्रोल सुविधाले चालकको आत्मविश्वासलाई कायम गर्न मद्दत गर्दै यात्रालाई अझ सुरक्षित बनाउने कम्पनीले जनाएको छ ।यस्तै, क्लचर थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधि,‘क्विकसिफ्टर’ भने ‘रेसिङब्लु’ भेरियन्टमा मात्र उपलब्ध रहेको र ग्राहकले चाहेमा कालो र रातो भेरियन्टमा पनि राख्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।
यसैगरी, ‘कनेक्टएक्स’भन्दा उन्नत प्रविधिको ‘वाइकनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएका छन् ।एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथ मार्फत जोडेपछि गियर सिफ्ट इन्डिकेटर, फ्यूल कन्जम्पशन इन्डिकेटर, सिफ्ट टाइमिङ्गलाईट, भिभिए इन्डिकेटर, ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर, मोबाइलफोनको ब्याट्री लेभल, मेन्टेनेन्स रिकमेण्डेशन, पार्किङ लोकेशन, मालफङ्शन नोटिफिकेशन, रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ जस्ता निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।
यसका साथै वाइकनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्ट जस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।बिहिबारबाट नेपालभरका यामाहा शोरुममा उपलब्ध हुने जनाएको आरवान १५ भि ४ निलो,कालो र रातोको मूल्य नेपाली बजारमा रु.क्रमश ५,७२,९०० र रु ५,६२,९०० रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया