Breaking

सैनिक लिएर गएको निगमको जहाज पश्चिम अफ्रिकामा ग्राउन्डेड


काठमाडौँ — बुधबार राति काठमाडौंबाट गएको नेपाल वायुसेवा निगमको जहाज पांग्रा पन्चर भएकाले पश्चिम अफ्रिकास्थित मालीमा ग्राउन्डेड भएको छ । नेपाली सेना लिएर उडेको जहाज जगेडा पांग्रा नपाइएपछि मालीबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै अलपत्र परेका छन् । निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार, बुधबार राति ११ बजे निगमको न्यारोबडी विमान ७५ जना नेपाली सेनालाई लिएर पश्चिम अफ्रिकाको मालीका लागि दोहा हुँदै गएको थियो ।

‘बुधबार राति काठमाडौंबाट दोहा, चाड हुँदै बिहीबार नेपाली समयअनुसार, ३ बजे मालीमा जहाज अवतरण भइसकेपछि इञ्जिनियरहरुले जाँच गर्दा एउटा ल्याण्डिङ्ग गियरको टायर पांग्रा ब्रस्ट पञ्चर भएको पाइयो,’ उक्त उडानमा रहेका एक अर्का कर्मचारीले भने, ‘हामीसँग जगेडा टायर नभएकाले नेपाल फर्किनुपर्ने जहाज मालीमै ग्राउन्डेड भएको छ । बिहीबार बेलुकीसम्म टायरको टुंगो लागिसकेको छैन ।’

ती कर्मचारीका अनुसार, मालीस्थित गाओ अन्तर्राष्ट्रिय विमानस्थलमा टायर खोजिएको थियो तर उपलब्ध भएन । नेपाली सेनाको मिसन रहेको गाओ सहर मालीको राजधानी बमाकोदेखि डेढ घन्टा हवाई दूरीमा पर्छ । निगमको चार्टर जहाजमै गएका इन्जिनियर र प्राविधिकहरुसहित ६ जनाको टोलीले मालीको राजधानी बमाकोबाट जगेडा टायर झिकाउने तयारी गरिरहेको तर बिहीबार बेलुकीसम्म टायर नपुगेको काठमाडौंस्थित निगमका एक प्राविधिकले बताए ।

जगेडा टायरको खोजीका लागि निगमको चार्टर उडानमा गएका वाणिज्य विभाग र इन्जिनियरिङतर्फका ६ जना कर्मचारीहरुले नेपाली सेनामार्फत संयुक्त राष्ट्र संघ मातहतको त्याहाको कार्यालयलाई पनि मद्दत मागेको जनाइएको छ । मालीको राजधानी बमाकोदेखि गाओ सहरमा दैनिक एउटामात्रै उडान भएकाले टायर झिकाउने प्रयास भइरहेको इमेल आएको छ । त्यस्तै शान्ति सेना र संयुक्त राष्ट्र संघको मिसन कार्यालयलाई पनि भनिएको छ,’ ती प्राविधिकले भने ।

उक्त उडानबाट ७५ जना सैनिकबाहेक ४ पाइलट, १० जना क्याबिन क्रू र ६ जना प्राविधिक, डिस्प्याचरलगायत कर्मचारी गरी २० जना मालीमै पुगेका छन् । यो चार्टर उडानका लागि निगमले मंगलबार नै ४ पाइलट र १० जना क्याबिन त्रू जगेडा चालक दललाई दोहा पठाएको थियो । बुधबार राति काठमाडौंबाट गएका ४ क्याबिन क्रू र २ जना पाइलट दोहामा उत्रिएपछि मंगलबारदेखि त्यहाँ आराम गरिरहेको १४ जना चालक दलको टोलीले उक्त जहाजलाई बिहीबार माली पुर्‍याएको थियो । शुक्रबार ११ बजे काठमाडौं फर्किसक्नु पर्ने उक्त विमान टायर अभावका कारण बेलैमा नफर्किने भएपछि उक्त जहाजले शुक्रबार गर्ने मुम्बईलगायतका अन्य उडान प्रभावित हुने एक पाइलटले बताए ।