Breaking

सत्ता गठवन्धनमा झगडा सकिएन, काठमाडौँमै लफडा, एक्लाएक्लै चुनावै दौडमा


काठमाडौँ — प्रतिगमन विरुद्ध विजय भएको र संविधान रक्षा गर्न सफल भएको भन्दै गठबन्धनसहित चुनावी मैदानमा होमिएका सत्ता घटक दलमै खटपट देखिएको छ । तल्लो तहसम्मै मजबुत गठबन्धन बनाउन सफल भएको शिर्ष नेतृत्वको दावीका वीच देशकै केन्द्र काठमाडौँमै समस्या देखिएको हो आगामी निर्वाचनमा वहुमतसहितसत्ता सम्हाल्ने लक्ष्यमा रहेको सत्ता गठबन्धन अहिले निर्वाचन केन्द्रीत गतिविधिमा व्यस्त छ ।

केहि दिनसम्म वागी र असन्तुष्टलाई मिलाउने तथा पार्टीभित्रका असन्तुष्टि सम्बोधनमा व्यस्त बनेका दलहरु अहिले चुनावी सभा,भेला र प्रशिक्षणमा व्यस्त छन् । यसैका परिणाम आगामी निर्वाचन पछि पनि गठबन्धन कायम रहने तथा गठबन्धनको विकल्प अरु हुन नसक्ने प्रमाणित गर्न उनीहरु लागि परेका छन । शिर्षस्थ नेताहरुले गठबन्धनलाई जिताउन संयुक्त आह्वान नै गरेका छन् भने प्रचण्डले रुख र हसिया हथौडा एक भएको धेरै भईसकेको बताउन थालेका छन ।

यता प्रधानमन्त्री देउवाले पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अविश्वास नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन नै दिएका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेसको मत ट्रान्सफर नहुने चिन्ता व्यक्त गरेपछि देउवाले आजको दिनमा हँसिया हतौडा, कलम र रूख एकै भएकोसम्म भन्न भ्याएका छन ।

कतै टिकट बाँडफाडमा देखिएको असन्तुष्टि निर्वाचन परिणामा देखिने त हैन भन्ने डरमा रहेको उनीहरु हरतरह गठबन्धन मजबुत रहेको भाष्य निर्माण गर्न लागि परेका छन । तर देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमै तालमेलको दाबी गरेको सत्तारूढ दलबिच काठमाडौंमै सहमति पालना हुन सकेको छैन । सिट बाँडफाँटमा माओवादी केन्द्रले प्रतिनिधिसभा काठमाडौँको २, ७ र ९ पाएकोमा ३ र १० मा पनि प्रतिनिधि सभामा उम्मेदवारी दिएको छ ।

त्यस्तै प्रदेशमा माओवादीले क्षेत्र नम्बर ३ को ख, ६ को ख र १० को क पाएको थियो। यी तीनै सिटमा कांग्रेसको पनि उम्मेदवारी परेकोे छ भने एकीकृत समाजवादीले पाएको काठमाडौं ५ को ख मा पनि कांग्रेसबाट उम्मेदवारी परेको छ।जसले कांग्रसको साथमा चुनाव जित्नुपर्ने अवस्थामा रहेका माओवादी र एकीकृत समाजवादीका उम्मे्दवारहरुलाई प्रभाव पार्ने सम्भावना बढेको छ । आफ्नो पार्टी गठबन्धनप्रति ईमान्दार रहेकोले माओवादी पनि सोहि बाटोमा हिड्नुको विकल्प नभएको कांग्रेस नेताहरुको भनाईले समेत यसलाई मलजल गरेको छ ।

यसैपनि काग्रेसमा अन्तरघात सबैभन्दा पुरानो रोग हो भने कम्युनिष्टलाई त्यो भोट जाने सम्भावना न्युन रहने गठबन्धनकै नेताहरु बताउछन । यहि कारण मत ट्रान्सफरमा आशंका गरिरहेका अन्य घटक दलहरु ईमान्दार गठबन्धन हुनेमा आशंका व्यक्त गरिहेका छन ।

तर कांग्रेसले आफ्नो पार्टीबाट वागी परेकाहरुलाई फिर्ता गरिसक्दा पनि कतिपय स्थानमा माओवादीकेन्द्रले वागी फिर्तामा खासै ध्यान दिएको छैन । बरु उम्मेद्धार बनेकाहरु भने कुनैपनि हालतमा आफू पछि नहट्ने अडानमा देखिएका छन् । यसको प्रत्यक्ष मारमा काठमाडौंमा माओवादीका आधिकारिक उम्मेद्वार ओनसरी घर्ती, मानुषी यमीदेखि कल्पना धमलालाई नपर्ला भन्न सकिन्न । हुन त सबै स्थानमा गठबन्धन मजबुत बन्छ भन्नेमा यसअघिबाटै आशंका व्यक्त गरिदै आएको छ ।

त्यसमा पनि कमजोर आधार भएको उपत्यकामै गठबन्धनमा समस्या देखिनुले एक निर्वाचन क्षेत्र मात्र नभई अन्य क्षेत्रमा समेत असर पर्ने देखिएको छ । त्यसमा पनि एक प्रतिनिधि सभा क्षेत्रमा दुई स्थानीय तहका वडाहरु पर्नुले समेत यसलाई अझ पेचिलो बनाएको छ । यो परिस्थितीमा निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ताको समय ढल्किसकेकाले अव आफसी समझदारीमा उम्मेद्वारी निष्क्रिय बनाउन नसके उपत्यकामा गठबन्धन भाँडभैलोमा जाने निश्चित छ ।