Breaking

म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन तर अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ: प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् ।‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ । आकांक्षा नै नभएको होइन’ प्रचण्डले भने ।

पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमा ध्यान दिएको, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोरको परिकल्पना र विद्युतीकरणको परिकल्पना अगाडि सारेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय एकता र विकासको मोडल र लोकतन्त्रको सुदृढिकरणमा ध्यान दिएको प्रचण्डको भनाइ छ ।

तर, विगतमा अनुभव र समयको कमीका कारण प्रभावकारी काम गर्न नसकेको भन्दै उनले भने, ‘पहिलो प्रधानमन्त्रीको कार्यकाल ९ महिना झिलिमिली भयो त्यो मलाई । दोस्रो पटक अलि सचेत भएर मधेश, पहाड, हिमाल जोड्ने, चुनावतिर देशलाई लैजाने र विकासमा प्रचण्डले गर्न सक्दो रैछ, चाहँदो रैछ भन्ने बनाउन खोजेँ’ प्रचण्डले भने ।

अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ । उनी भन्छन्, ‘अब त मलाई धेरै अनुभव भइसक्यो । जनताले पनि मलाई भरोसा गरेकै देख्छु म । त्यो भरोसालाई देशको नेतृत्व गरेर आर्थिक विकासमा फड्को हान्ने, केही ठूला परियोजना र केही साना परियोजनाको संयोजनमार्फत फड्को हान्न मन छ । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले यसो भनेका हुन् ।