खेलकुद

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलः एपिएफलाई स्वर्ण


काठमाडौँ — गण्डकी प्रदेशमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण विभागीय टोली एपिएफ क्लवले जितेको छ । पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लवलाई हराउँदै बिहीवार स्वर्ण पदक जितेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझायो । प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपिएफले आर्मीबिरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

यद्यपि खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो । एपिएफले पहिलो सेट २५–२१ ले पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट आर्मी खेलमा फर्किनका लागि निकै प्रयास गरेपनि सफल हुन सकेन । २७–२५ ले पक्षमा पार्दै दोस्रो सेट पनि एपिएफले पोल्टामा पारेको थियो । दुई सेट जितिसकेको एपिएफले तेस्रो सेटमा पनि आर्मी दबाबमा राख्यो ।

यद्यपि तेस्रो सेट पनि प्रतिष्पर्धात्मक नै बन्यो । खेलमा फर्किन कोशिस गरेको आर्मीले २४–२६ को स्कोरमा सेट सुम्पिएसँगै स्वर्ण पदक पनि गुमाउन पुग्यो । दुवै टोलीमा राष्ट्रिय खेलाडीको वर्चश्व रहेको थियो । यस्तै बिहीवार नै कास्य पदकका लागि भएको प्रतिष्पर्धामा आयोजक गण्डकी प्रदेश अर्को विभागीय टोली नेपाल पुलिस क्लवसँग स्तब्ध हुन पुग्यो । पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सहज जित निकाल्न सफल भएको थियो ।

पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको पुलिसले दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–१८ को स्कोर निकाल्न सपफल भएको थियो । यससँगै एपिएफका दुवै टोलीले भलिबलमा स्वर्ण पदक जितेका छन् । यसअघि बुधवार भएको महिला तर्फको प्रतिष्पर्धामा एपिएफले नेपाल पुलिस क्लवमाथि ३–१ को सेटमा जित निकाल्दै स्वर्ण पकद जितेको थियो भने वागमति प्रदेशले कास्य पदक जितेको थियो ।