Breaking

एमाले अध्यक्ष ओलीले आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने


काठमाडौँ— नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले बताए ।

महासंघका सहइन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा,महासंघका अध्यक्ष गोकुल घर्ती,महासचिव पेम्बासहितले ओलीलाई भेटेर कार्तिक ४ गते जनजातिसँग संवाद कार्यक्रमको निम्ता दिएका थिए ।ओलीले कार्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्याएका छन् । सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरुको सुझाव सुन्ने भोटेले बताए ।

विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ । ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।