Breaking

झापामा ओली निकै दरो,लिङ्देनसँग सिटौला संकटमा, विश्वप्रकाशको हाराहारी भिडन्त,यस्तो छ हिसावकिताव


काठमाडौँ — आसन्न मंसिर ४ को निर्वाचनका लागि देशभर चुनावी सरमर्गी चढिरहेका बेला शीर्ष नेताका क्षेत्रलाई चासोका साथ हेरिएको छ । त्यसमध्येको एक हो झापा । झापामा एमाले अध्यक्ष ओलीदेखि काँग्रेसका महामन्त्री र राप्रपा अध्यक्ष हेभि भिडन्तको तयारीमा छन् । हेभिवेट नेताहरुको हेभि भिडन्त हुने निर्वाचन क्षेत्रहरुमध्ये झापा प्रमुख हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली ४८ सालदेखि निरन्तर झापाबाटै चुनाव लड्दै आएका छन् ।

झापाको चुनावी चर्चा गर्दा एउटा वाक्य अनिवार्य छ, ‘यहाँ केपी शर्मा ओली निकै बलिया छन् ।’ यसपटक पनि कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धनविरुद्ध ओली आफ्नै निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्दैछन् । ०६४ मा माओवादीका उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथमा निर्वाचित भएका थिए । त्यतिबेला २८ हजार ८ सय ४२ मतान्तरले काँग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरेका ओली यसपटक पनि उनैसँग भिड्ने पक्का बनेको छ । तथापी राप्रपा साथमा नलिइ ढुक्क हुने अवस्था ओलीलाई छैन ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणामलाई मात्रै विश्लेषण गर्दा यहाँ एमाले एक्लैको ४१ हजार ६१९ मत छ । राप्रपाको ८ हजार ३५३ मत जोडियो भने झण्डै पचास हजार मत पुग्छ । जबकि सत्ता गठबन्धनमा आवद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत मात्र ३४ हजार ७ सय ९८ छ । यो हिसावको सोझो अर्थ, झापा ५ मा गठबन्धनलाई हराउन ओलीले कुनै लत्तो झार्नु पर्दैन ।

बलियो प्रतिस्पर्धी नभएपनि ओलीले कदमकदाचित चुनाव हारे, राजनीतिक जीवनको अन्तिम लडाइँ हार्नेछन् । यसले प्रतिष्ठाकै लागि भएपनि जित्नेपर्ने दबाबले ओलीको निद्रा हराम गरेको छ ।अब कुरा गरौं झापा तीनको । यहाँ उग्र गणतन्त्रवादी र उग्रराजतन्त्रवादीको रि–ब्याटल हुँदैछ । गणतन्त्रका हिमायती सिटौला र ज्ञानेन्द्र शाहलाई राजा र आफुलाई प्रधानमन्त्री भन्दै चुनावमा होमिएका राजेन्द्र लिङ्देन यहाँबाट भिड्दैछन् ।गत निर्वाचनमा लिङ्देनसँग सिटौला यही क्षेत्रमा पराजित भएका थिए ।यहाँ एमाले–राप्रपा गठबन्धन झण्डै १० हजार मतले अघि रहेको छ ।

वडाअध्यक्षको मतलाई हेर्दा एमाले–राप्रपाको ४२ हजार २ सय ४२ छ भने सत्ता गठबन्धनको ३२ हजार ८ सय ७५ छ । यहि तरिकाले मत खसे सिटौला संकटमा पर्नेछन् ।झापा १ काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माका कारण चर्चामा छ ।एमालेका अग्नि खरेलसँग भिडिरहेका शर्मालाई तेस्रोपटक हार्ने छुट छैन । हारे संसद छिर्ने सपनामाथि तुषरापात हुनेछन् ।तर यहाँ पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा एमाले–राप्रपा गठबन्धन ३ हजार मतले अघि छ । एमाले–राप्रपाको २६ हजार २०२ मत रहेका बेला सत्ता गठबन्धनले २३ हजार ७०६ मत पाएको थियो ।तर स्वतन्त्रको लहर चलिरहेका बेलाझापालाई नै आधार बनाएर निर्वाचित हुने आशा र भरोशाका साथ अधिवक्ता अभियन्ता स्वागत नेपालमात्रै होइन, ओलीलाई चुनौती दिँदै वाम विश्लेषक तथा लेखक युग पाठक झापामै चुनाव लड्दैछन् ।रमाइलो त के छ भने, उखान टुक्काले हसाउन माहिर ओलीको निर्वाचन क्षेत्रमा हास्यकलाकार कुमार कट्टेल जिग्र्रीले ओलीलाई माथ खुवाउने सोचिरहेका छन् । यहाँ २५ जनाको उम्मेदवारी परेको छ ।

झापा ४ मा एमाले–राप्रपा गठबन्धन र सत्तागठबन्धनबीच हाराहारीको प्रतिस्पर्धा छ । यो निर्वाचन क्षेत्रमा एमालेले २०७४ मा निर्वाचित एलपी सावा लिम्बुलाई उठाउँदा कांग्रेसले देउकुमार थेवेलाई उठाएको छ ।झापा २ मा एमाले र राप्रपाको तर्फबाट एमालेका देवराज घिमिरे उठेका छन भने सत्ता गठबन्धनको तर्फबाट माओवादीका हरिकुमार राना मगर मैदान छिरेका छन् । मतमात्रै हेर्दा एमाले अघि भएपनि वडाध्यक्षको मतभारलाई हेर्दा काँग्रेस बलियो छ । झापाका ५ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनको बलियो सम्भावना भएको क्षेत्र यही एउटा हो ।